बिग आइकनमा दोस्रो दिन ४४ जना ग्रीन कार्ड

पोखरा, १६ माघ/सातौँ सँस्करणको बिग आइकनको पहिलो चरणको अडिसन अन्तरगत दोस्रो दिन ४४ जना गायन प्रतिभाहरुले अघिल्लो चरणमा प्रवेश पाएका छन् । आइतबार दिनभरि चलेको अडिसनमा थुप्रैं प्रतिभाहरुले सहभागिता जनाएका थिए ।

अडिसनको पहिलो दिन ६३ जनाले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ प्राप्त गरेका थिए । सातौँ सँस्करणको बिग आइकन अन्तरगत पहिलो चरणको अडिसन अझै दुई दिनसम्म चल्ने आयोजक बिग एफएमले जनाएको छ । यो पटक पहिलो चरणको अडिसनमा ५४ जिल्लाका ११ सय ५२ जना गायन प्रतिभाहरुले सहभागिता जनाउँदैछन् ।

यो पटक प्रतियोगितामा निकै कम उमेरका बालबालिकादेखि ६० वर्षे वृद्धसम्मले सहभागिता जनाएका छन् । स्कुल, कलेजमा अध्ययन गर्ने बिद्यार्थीसँगै गृहणी, मजदुर, र केहि परिचित अनुहार पनि अडिसनमा सहभागी भएका छन् । अघिल्ला वर्षको तुलनामा यो पटक बिग आइकनको सहभागिता निकै धेरै भएको आयोजक बिग एफएमले जनाएको छ ।

‘पहिलो चरणको अडिसन भएकाले मिश्रित खालका प्रतिभाहरुले सहभागिता जनाईरहेका छन् ।’ निर्णायक मध्येका एक विवेक श्रेष्ठले भने–‘यद्यपी निर्णायकको हिसाबले हामीले शुरुवाती चरणबाटै निकै संभावना भएकाहरुलाई मात्र छनौट गरेका छौँ ।’ केहि प्रतिभाहरु भने निकै खारिएर आएको उनले प्रतिक्रिया दिए । निर्णायकमा बिवेकसँगै गायक श्यामसुङ तामाङ र संगीतकार सुनील थापा रहेका छन् ।

कमेन्टहरु
Loading...