बिहेको पाँच दिनमै दुर्घटनामा श्रीमान्को मृत्यु

पोखरा, ९ बैशाख /पोखरा ७ मासबार निवासी सृर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन् । तर सोमबार दिउँसोको एक घटनाले उनको जीवनमा अन्धकार ल्याइदियो ।

वैवाहिक साइनो गाँसेको पाँच दिनमा तनहुँको म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पतिको ज्यान गएको छ । कास्की पोखराका ३१ वर्षिय सन्दीप कुँवरको मृत्यु भयो ।

दुर्घटनामा खुट्टा भाँचिएकी सृर्जनाको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको बैशाख ४ गते विवाह भएको थियो ।

पढ्नका लागि पोखरा आएकी सृर्जना स्थानीय सञ्चार उद्यमी उमनाथ बरालको प्रेसमा काम गर्छिन् । मेहनती र लगावपूर्ण रुपमा काम गरेकी राउतलाई उनै प्रेस धनी बरालले जोडी खोजिदिएका थिए ।

सृर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप । बरालका अनुसार सानिमासँग भेटघाट गरेर पोखरा फर्कने उनीहरूको तयारी थियो ।
‘परीक्षाका कारण श्रीमतीलाई पोखरा छाडेर उनी काठमाडौं जाँदै थिए,’ बरालले भने, ‘तर नसोचेको घटना भइदियो ।’

सन्दीप सवार मोटरसाइकल बसमा ठोकिनुमा सडकको खाल्डाखुल्डी कारक रहेको ट्राफिक प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...