बाढीका कारण आहत भएकालाई कलाकर्मीद्वारा राहतको प्रयास

वासुदेव पौडेल
पोखरा, २१ भदौ । “देश दुःखेको बेला कलाकर्मीको मन नदुख्ने कुरै भएन नी,” पोखरेली बरिष्ठ कलाकार गोपाल श्रेष्ठले भन्नुभयो, “बाढी पीडितलाई केही मात्रामा राहत होस् भनेर कलाकर्मीहरूको प्रयासमा यो कला प्रदर्शनी गरेका हौं ।”
बाढीको पीडाका कारण घरवास गुमाएका पीडितलाई केही मात्रामा नै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सिर्जनशील कलाकार समूह, पोखराको संयोजनामा पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा यही भदौ १७ गतेदेखि कला प्रदर्शनी चलिरहेको छ ।

यस वर्षको बाढीका कारण नेपालका धेरै भूभागमा ठूलो क्षति बेहोर्नु परेको पीडाले कलाकारका मनलाई छोएको बताउँदै कलाकार श्रेष्ठले मानिसहरूले भोग्नुपरेका पीडा, व्यथा र बेदनामा केही मात्रामा नै भए पनि मलम पट्टी लगाउन सकिन्छ की भन्ने उद्देश्यले कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा दुई हजार ५०० रुपैयाँदेखि २० हजार रुपैयाँ सम्मका कलाकारका सिर्जना राखिएको बताउने अर्की कलाकार मीलन शेरचन बाढी पीडितको सहयोगार्थ प्रदर्शनी राखिएका कारण ५० प्रतिशत छुटमा सिर्जनाहरू विक्री गरिएको बताउनुभयो ।

“विक्री गरिएका मध्ये प्रत्येक कलाको ५० प्रतिशत बाढी पीडितलाई र ५० प्रतिशत कलाकारका लागि छुट्याएका छौं,” उहाँले भन्नुभयो, “सुरुमा नै ५० प्रतिशत छुट गरी त्यसको पनि ५० प्रतिशत बाढी पीडितलाई छुट्याएका कारण कलाकारले खासै कलाको परिश्रमको मूल्य नपाउने भए पनि देश दुःखेको बेला सानै सहयोग भए पनि राहत दिन सकिन्छ की भनेर यो प्रदर्शनी गरिएको हो ।”

प्रदर्शनीमा ३२ जना कलाकारका ८५ वटा तस्विर राखिएको कलाकार एवम् पोखरा आर्ट ग्यारीकी कर्मचारी एलिता गुरुङले जानकारी दिनुभयो । “प्रदर्शनी सुरु भए यता विभिन्न १८ वटा कला विक्री भैसकेको छ,” उहाँले भन्नुभयो, “कलाका पारखीहरूका लागि अघि पछि भन्दा ५० प्रतिशत छुट हुनुका साथै आफूले तिरेको कलाको ५० प्रतिशत बाढी पीडितका लागि जाने भएका कारण पनि कतिपय व्यक्ति कला खरिद गर्न लालायित भएका छन् ।”

घरमा लगेर कला सजाउन पनि पाइने र किनेको कलाको ५० प्रतिशत मूल्य बाढी पीडितको सहयोगमा जाने भएकोले कलाका पारखीका लागि यो सामाजिक सेवाको पनि अवसर भएको प्रदर्शनीमा आएका पोखरा नागढङ्गाका ओम कार्कीले बताउनुभयो । प्रदर्शनीले देश र समाजको पीडामा कलाकार पनि सँगै छन् भन्ने कुराको ऐक्यबद्धता समेत प्रस्तुत गरेको सिर्जनशील कलाकार समूहका अध्यक्ष प्राज्ञ नगेन सिंहले बताउनुभयो ।

सिर्जनशील कलाकार समूहका कोषाध्यक्ष झविन्द्र गुरुङका अनुसार आगामी २४ गते शनिवारसम्म आयोजना गरिने प्रदर्शनीमा बरिष्ठ कलाकारहरू दुर्गा बराल, गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, मीलन शेरचन लगायत हेमकान्ती गुरुङ, नीशान गुरुङ लगायतका सिर्जना राखिएको छ । प्रदर्शनीबाट विक्री भएका सिर्जनाको ५० प्रतिशत मूल्यका अतिरिक्त प्रत्येक कलाकारले प्रतिव्यक्ति पाँच सय रुपैयाँ थप रकम बाढी पीडितलाई सहयोग गर्ने निर्णय समेत गरिएको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...