कानूनको कठोर कार्यान्वयन भए मात्रै सुशासन–प्रदेश प्रमुख कुँवर

तनहुँ (बन्दिपुर), १५ चैत /गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कानूनको कठोर कार्यान्वयन भए मात्रै सुशासन कायम हुने बताएका छन् ।

तनहुँको बन्दीपुरमा बिहीबारदेखी सुरु भएको आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणको लागि सार्वजनिक लेखा समिति गण्डकी प्रदेश र सरोकारवाला सँस्थाहरुबिच समन्वय र सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख कुँवरले भ्रष्टाचार नियन्त्रण गर्ने निकायका अधिकारी नै भ्रष्टाचारमा मुछिएको अवस्था शर्मनाक भएको बताए । ‘संवैधानिक निकायमा कस्तो चरित्रका व्यक्ति पुग्दा रहेछन् थाह भइहाल्यो’ उनले भने,‘संविधान, ऐन, कानुन कठोरताका साथ लागु गर्न कहाँनेर समस्या छ, त्यो पनि खोज्नुपर्छ ।’

उनले विश्वका धेरै देशमा अहिले सुशासन र भ्रष्टचारको कुरा हुन छाडिसकेको सुनाए । ‘भ्रष्टाचार हुनेबित्तिकै कसलाई छाडिदैन । उसको कुराको सुनुवाई कही पनि हुँदैन । कठोरतापूर्वक कानुनको कार्यान्वयन हुन्छ’ उनले भने,‘त्यसकारण कानुनको साम्राज्य चल्नुपर्छ । कानुनको आतंक चल्नुपर्छ ।

आतंक र साम्राज्य भन्ने शब्द सुन्दा खराब लाग्छ । तर, साम्राज्य र आतंक कानुनको लागु हुनुपर्छ । त्यसपछि मानिस आर्थिक अनुशासन मात्रै हैन, सुशासन कायम नभएर सुख ?’ प्रदेश प्रमुख बाबुराम कुँवरले कानुन बन्ने तर एउटा चरणमा पुगेर कार्यान्वयन नहुने अवस्था डरलाग्दो भएको दाबी गरे । ‘छोरा भतिजा, श्रीमती, पति जो दोषी भए पनि कारबाही भए मात्र विधिको शासन हुन्छ । लेखेर मात्र भएन, कार्यान्वयन गरिनुपर्छ ।’

गण्डकी प्रदेश प्रमुख, सभामुख, मन्त्री, महालेखा परीक्षक, संघीय सांसद र सरोकारवालाबिच गरिएको छलफलमा बोल्नेहरुले नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनुशासन कायम हुने हो भने भ्रष्टाचार न्यूनीकरण हुँदै जाने धारणा राखे । महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचारको स्वरुप फेरिदै गएकाले यसका विरुद्व निर्मममतापूर्वक लाग्नुपर्ने बताए । महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचारको स्वरुप फेरिदै गएकाले यसका विरुद्व निर्मममतापूर्वक लाग्नुपर्ने बताए ।

सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बितिसक्दा समेत लेखा समिति अझै गठन नभएकाले अनियमितता हुने सम्भावना बढेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, गण्डकीका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सुशासन कायम गर्न सफल हुने विश्वास व्यक्त गरे । युएनडीपीको सहयोगमा गण्डकी प्रदेश सचिवालय र लेखा समितिले गरेको कार्यक्रममा शुक्रबारसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...