गण्डकी प्रदेश प्रमुखद्वारा छाङछाङदीको छायाँक्षेत्र शिव मन्दिर दर्शन

पोखरा, ७ साउन /गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले भिरकोट नगरपालिका वडा नं. ७ छाङछाङदी स्थित छाङछाङदी शिब मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले मन्दिर दर्शन गर्नुका साथै विधिपूर्वक पूजाआजा गरेका हुन् ।

मन्दिर दर्शनपछि प्रदेश प्रमुख कुवँरले छोटो मन्तव्य दिँदै मान्छेलाई आफू ठूलो र सानो भन्ने भ्रम भएकाले समभाव राख्न सके मात्रै सफल भइने बताए । उनले मान्छेमा धार्मिक मन नभएकाले अंहकारी सोच पलाउनले र थाहै नपाई गलत काम गर्ने प्रबृत्ति बढेको विचार व्यक्त गरे ।

‘विधि मान्ने मान्छेले मौका पाए भने विधिलाई तोड्न सक्छ, तर धार्मिका मान्छेले मौका पाओस् नपाओस् धर्म छाड्दैन’ उनले भने,‘त्यसैले धर्म नछाडी देशको सेवा गरे मात्रै समृद्धी आउँछ । धर्मले मान्छेलाई सही काम गर्न प्रेरित गर्छ ।’

उनले आध्यात्मप्रति रुची भएकाले अन्य मन्दिरमा जस्तै छाङछाङदी (छायाँ क्षेत्र)शिब मन्दिरमा दर्शन गर्न पुगेको सुनाए । ‘अविभावकका हैसियतले प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायुको कामना सहित पूजाआजा गर्नु मेरो कर्तव्य पनि हो’ प्रदेश प्रमुख कुँवरले भने ।

गण्डकी प्रदेशमा छाङछाङदी शिव मन्दिरको ठूलो महिमा रहेकाले यसको दर्शन गर्न पाउनु आफ्ना लागि शौभाग्य भएको उनले बताए । त्यस अवसरमा प्रदेश प्रमुख कुँवरलाई छायाँक्षेत्र शिवमन्दिर सेवा समितिका पदाधिकारीले फुलमाला लगाएर स्वागत गरेका थिए । मन्दिरमा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने गर्छ ।

सोही अवसरमा प्रदेश प्रमुख कुँवरसहित उनको टिमले स्याङजाको मिर्मिस्थित गण्डकी प्रदेश मात्र नभई देशकै ठूलो जलविद्युत परियोजना कालिगण्डकी ‘ए’ को ड्याम र बेलटारिस्थित कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्रको बिद्युत गृहको अवलोकन समेत गरेका थिए । प्रदेश प्रमुख कुँवरलाई कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्र बिद्युत गृहका प्रमुख राजेश पाण्डले विद्युत वितरण, यसको संचालन प्रक्रिया लगायतबारे जानकारी गराएका थिए । यहाँबाट १ सय ४४ मेगावाट विद्युत उत्पादन हुने गर्छ ।

कमेन्टहरु
Loading...