अन्नपूर्ण गाउँपालिकाको बजेट २८ करोड ६५ लाख, पर्यटन, उर्जा, सडकलाई प्राथमिकतामा

पोखरा, ३० असार / अन्नपूर्ण गाउँपालिका कास्कीको आर्थिक वर्ष २०७४÷७५ का लागि २८ करोड ६५ लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकाको वर्षिक बजेट, नीति तथा कार्यक्रम एक समारोहकाबीच आज सार्वजनिक गर्दै  गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले यहाँको समग्र विकासका लागि पर्यटनको विकास, उर्जा उत्पादन, सडक सञ्जाल विस्तार लगायतका विषयलाई प्राथमिकतामा राखेको बताए ।

पूर्वाधार विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष कुँवरले गाउँपालिकामा सबै वडालाई छुने गरी चक्रपथ निर्माण, स्थानीय सडक सञ्जाल विस्तारका साथै उर्जा उत्पादनका योजना अघि बढाइने जानकारी दिए ।“गाउँपालिका भित्र अपार जलस्रोतको सम्भावना छ,” उनले भने, “जलस्रोतको उपयोग मार्फत उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने गरी विद्युतीय उर्जा उत्पादन गर्न यस क्षेत्रका स्थानीयवासीको कम्तीमा एक घर दश सेयरको अवधारणा अघि बढाइने छ ।”विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्गको विकास गर्न आवश्यक रहेको बताउँदै उनले यसका लागि आवश्यक भौतिक पूर्वाधार तयार गरी विश्व बजारमा प्रचारप्रसार गरिने उल्लेख गरे ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण अन्नपूर्ण गाउँपालिका भित्रका पर्यटकीय स्थलको पहिचान गरी तिनीहरूको विकास गर्ने बताउँदै कुँवरले यहाँका पदमार्गको मर्मत सम्भारका साथै नयाँ पदमार्गको पहिचान र विकास गरिने जानकारी दिए ।गाउँपालिका भित्रका अन्नपूर्ण वेसक्याम्प, घान्द्रुक, लान्द्रुक, उल्लेरी, अष्ट्रेलियन क्याम्प, तालच्याउनी, मणिको डाँडा, काडे, नौडाँडा, पञ्चासे लगायतका पर्यटकीय स्थलको विकास र प्रचारप्रसार गरिनेमा उनको जोड थियो ।   कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अन्नपूर्ण गाउँपालिका अपार सम्भावना बोकेको क्षेत्र भएको बताउँदै सम्भावनाको उजागर र विकास गर्न सके गाउँपालिकालाई समृद्धि र विकासको मार्गमा लैजान सकिने बताए ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद शुक्रराज शर्माले विकासमा राजनीति गर्न नहुने बताउँदै यस गाउँपालिकामा पर्यटन, उर्जा लगायतका क्षेत्रमा धेरै सम्भावना रहेर पनि तिनीहरूको उपयोग गर्न नसकिएको उल्ल्ेख गरे । नेकपा एमालेका नेता एवम् पूर्व जिविस सभापति पूण्य प्रसाद पौडेलले एक्याप र गाउँपालिकाबीच राम्रो समन्वय हुनुपर्ने बताउँदै उत्पादन क्षेत्रका आधारमा बजेट विनियोजन हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख सगुन गुरुङ, नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य पूण्य पौडेल, राप्रपाका पूर्व केन्द्रीय सदस्य कूलबहादुर गुरुङ, दलित महिला जनप्रतिनिधि गौमाया नेपाली, चन्द्रबहादुर गुरुङ, मुक्तिराम अधिकारी लगायतले विकासमा राजनीतिकरण गर्न नहुने बताउँदै सबैको सहकार्यमा गाउँपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी एवम् स्थानीयवासी तारानाथ अधिकारी, पूर्व जिविस सभापति पूण्यप्रसाद पौडेल, साविकका ढिकुर पोखरी, लुम्ले, सल्यान, घान्द्रुक र दाङसिङ गाविसका सचिवहरू स्थानेश्वर ढुङ्गाना, तोयनाथ तिमल्सिना, राजन तिमल्सिना र अर्जुनप्रसाद भण्डारी र अन्य कर्मचारी नारायण क्षेत्री, मुक्तिराम भण्डारी र लालबहादुर श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...