अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, ६ असोज / अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न तीन चरणमा गर्न लागिएको महोत्सव अन्तर्गत आगामी असोज २५ गते अन्नपूर्ण आधार शिविरमा विभिन्न कार्यक्रमका साथ महोत्सवको प्रथम चरणको कार्यक्रम गरिने महोत्सव आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका सहित विभिन्न संघ संस्थाको सहयोगमा हुने महोत्सवको दोस्रो चरण आगामी पुस १० गतेदेखि १५ गतेसम्म पर्यटकीय गाउँ छाम्रोङमा र तेस्रो चरण २०७५ जेठ १८ देखि २० गतेसम्म पर्यटकीय गाउँ घान्द्रुकमा हुने सो अवसरमा जानकारी दिईएको थियो । प्रथम चरण अन्तर्गतको तयारी अन्तिम चरणमा पुगेको छ ।

पत्रकार सम्मेलनमा अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाले अन्नपूर्ण हिमालको आधार शिविरमा गरिने महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले महोत्सवसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र विकास हुने विश्वास लिइएको बताए ।

कार्यक्रममा आयोजक समितिका सह संयोजक क्षेत्रबहादुर गुरुङ, महासचिव दीलिप गुरुङ, चित्रबहादुर गुरुङ लगायतले महोत्सवको महत्व बारे आ आफ्ना धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...