पर्वतमा बस दुद्र्धटना हुँदा ७ को मृत्यु, ३३ घाईते

 

पर्वत, ३ माघ

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार भएको मिनिबस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जिल्ल प्रहरी कार्यालय पर्वतका अनुसार ३ जनाको दुर्घटनास्थलमा र बाँकी ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन र विष्णुमाया पुन रहेका छन् । यस्तै, बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । बेनीबाट नारायणगढ हिँडेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् । १७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा लगिएको छ । घाइतेहरुको पुरै नामावली अहिलेसम्म सनाखत हुन सकेको छैन । बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको प्रहरीको अनुमान छ। पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार घाइते ३६ जनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि बाग्लुङ अस्पताल लगिएको छ। सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ । घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाडौं पठाउने क्रम चलिरहेको छ । गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्नेगरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो । तर, दुर्घटनाको एकिन तथ्य भने खुलेको छैन । २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ । घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए। दुर्घटनाको यथार्थ बिवरण आउन बाँकी रहेको छ ।

कमेन्टहरु
Loading...