आठौं राष्ट्रिय खेलकुदः ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

पोखरा, ३० चैत /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा सम्पन्न ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व रहेको छ । ट्रायथलन पुरुष तर्फको प्रतिस्पर्धमा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते ।

एक मिनेटले पछि परेका आर्मीकै बसन्त थारु रजत पदकमा चित्त बुझाए । थारुले १ घण्टा ९ मिनेट ९ सेकेण्डको समयमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने शसस्त्र प्रहरी बलका नितेश मानन्धर रहे । उनले १ घण्टा १५ मिनेट ९ मिनेटमा पुरा गर्दै कास्य पदक जित्न सफल भएका हुन् ।

महिला तर्फको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छन् । उनले १ घण्टा २२ मिनेटको समय दुरी पुरा गरीन् । नेपाली सेनाकी केशरी थापा मगरले १ घण्टा २९ मिनेट ३० सेकेण्डमा पुरा गर्दै रजत पदक र गण्डकी प्रदेशकी जमुना थापाले २ घण्टाको समय लगाउँदै कास्य पदकमा चित्त बुझाईन् ।

यसैगरी दुवाथलन इभेण्ट प्रतिस्पर्धामा पुरुष तर्फको स्वर्ण शसस्त्रका लक्ष्मण मल्लले जितेका छन् । त्यसैगरी नेपाली सेनाका हिमाल तामाङले रजत पदक जिते । तेस्रो स्थानमा पनि शसस्त्र प्रहरी बलका किरणकुमार मल्ल कास्य पदक जिते ।

महिला तर्फको प्रतिस्पर्धा शसस्त्र प्रहरी बलकी हुमी बुढामगरले स्वर्ण, शसस्त्र कै निर्जला ताम्राकारले रजत र सकुन्तला बुढामगरले कास्य पदक जित्न सफल भईन् ।

ट्रायथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्वीमिङ ७५० मिटर ५ किलोमिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए । दुवाथलन स्प्रिन्टमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौडको प्रतिस्पर्धा गर्दै सहभागिले टुग्ंयाएका थिए । आठौं राष्ट्रिय खेलकुद अन्तरगत दुईवटा इभेण्टमा गरी ५१ जना खेलाडीको सहभागिता रहेको थियो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दिपक कोइराला, साउथ एशिया ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष सुमन देवकोटा लगाएतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीले पोखरामै आयोजना हुने एशियन कप तथा साउथ एशियन च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने छन् ।

कमेन्टहरु
Loading...