इनर्जी बैकिङ बनाउन नेपाल—भारत सहमति

सागर राज तिमिल्सिना
पोखरा, ११ माघ/नेपाल र भारतबीच विद्युत आदान प्रदानका लागि ‘इनर्जी बैकिङ’ स्थापना गर्न बिहीबार राती पोखरामा सहमति भएको छ । नेपालको बर्षायामको बिजुली भारतलाई दिने र हिउँदमा भारतले नेपाललाई दिन सहमति जुटेको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिर र भारतका तर्फबाट ऊर्जा सचिव अजय भल्लाले सहमतीमा हस्ताक्षर गरेका छन् ।

पोखरामा बुधबारदेखि सुरु भएको दुवै देशको ऊर्जा बैठकको प्रमुख एजेन्डाको रुपमा रहेको इनर्जी बैकिङमा सहमति जुटेको नेपाली पक्षको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरले जानकारी दिए । गत पुसको दोस्रो साता नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार गरेको इनर्जी बैकिङ सम्बन्धी प्रस्तावलाई पोखरामा भएको सचिव स्तरीय बैठकले अनुमोदन गरेको घिमिरले बताए ।

बैठकले अनुमोदन गरेपछि हाल निर्माण सम्पन्न भई चालू रहेको ढल्केबर–मुजप्mफपुर ४०० केभी प्रसारण लाइनबाट इनर्जी बैकिङ आरम्भ हुने उनले बताए । त्यसै गरि बैठकले भारतले टनकपुरमा तत्काल ५० एमभीए क्षमताको ट्रान्सफरमर राखी नेपाललाई ८० मेगावाटसम्म बिजुली उपलब्ध गराउन सहमति दिएको छ । हाल टनकपुरबाट ३० देखि ३५ मेगावाट मात्र बिजुली आइरहेको छ । त्यसै गरी रक्सौल—परवानीपुर र कटैया—कुसाहा १३२ केभी प्रसारण लाइनको बिजुली बोक्ने क्षमता विस्तार गरिदिन भारतले सहमति जनाएको उनले बताए ।

यसैगरी भारतले नौतनवा खण्डमा भारत तर्फ पाँच सय मिटर भूभागभित्र नेपाललाई प्रसारण लाइन विस्तार तथा मर्मत गर्न अनुमति दिएको छ । औद्योगिक क्षेत्र भैरहवाको उक्त १३२ केभी प्रसारण लाइनको क्षमता विस्तारले थप लोड व्यवस्थापन गर्न सजिलो हुने सचिब घिमिरेले बताए ।

त्यसैगरी नेपालले माग गर्दै आएको कोहलपुर—नानपारा १३२ किलोमिटर प्रसारण लाइन भारतीय अनुदानमा निर्माण गरिदिन पनि भारत सहमत भएको छ । दुवै मुलुकमा २५, २५ किलोमिटर खण्ड पर्ने यस प्रसारण लाइन कटैया—कुसाहामा जस्तै भारतीय अनुदानमा निर्माण गर्न नेपालले प्रस्ताव गरेको थियो । पोखराको होटल ग्रान्डमा भएको बैठकमा संयुक्त स्थायी समिति (जेएससी) को छैटौं बैठक हो ।

कमेन्टहरु
Loading...