चौथो पोखरा महोत्सव सम्पन्नमा महानायक राजेश हमाल, करिब ५ करोडको कारोबार

पोखरा, ८ माघ। युनाईटेड क्लबले पोखरामा आयोजना गरेको चौथो पोखरा महोत्सव बुधबार सम्पन्न भएको छ। शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्वनको उदेश्यले पुस ३० गतदेखि अमरसिंह उच्च माविको खेल मैदानमा महोत्सव शुरु भएको थियो। महोत्सव एक लाख ७८ हजार दर्शकले अवलोकन गरेको र पाँच करोडको आर्थिक कारोबार भएको प्रचार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवको आकर्षणमा औद्योगिक उत्पादनको प्रदर्शनी र विक्री, पोखरा तारा गायन प्रतियोगिता, दोहोरी, बाल उद्यान, अष्ट्रिच प्रदर्शन, लाइभ पप कन्सर्ट, पुष्पमेला, अटो मेला, पर्यटकीय स्थलको जानकारी र विभिन्न संस्कृतिका झाँकी रहेका थिए। बुधबार एक कार्यक्रमवीच महोत्सवको समापन गरिएको छ। कार्यक्रममा बोल्दै सुपरस्टार राजेश हमालले पोखराको सुन्दरता सवैको मन, मष्तिकमा रहेको बताए ।

पोखरा महोत्सव २०७० को समापन कार्यक्रममा महानायक राजेश हमाल
पोखरा महोत्सव २०७० को समापन कार्यक्रममा महानायक राजेश हमाल

उनले महोत्सवमा सहभागि भएर आफ्ना दर्शक एवं शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गर्न सौभाग्य पाएकोभन्दै खुशी समेत व्यक्त गरे। राष्ट्रिय प्रकृति संरक्षण कोषका पुर्व सदस्य सचिव जुद्वबहादुर गुरुङले चिडियाखाना निर्माणका लागि धेरै चुनौतीहरु रहेपनि पोख्रेली युवाहरुले चिडियाखाना निर्माणमा थालेको प्रयासलाई पुर्ण रुपमा सघाउने प्रतिवद्वता व्यक्त गरे । उनले नेपालमा चिडियाखाना सम्वन्धी विज्ञ नरहेकाले पनि चिडियाखाना निर्माण चुनौतिपुर्ण रहेको उल्लेख गरे ।

उनले पोखरामा चिडियाखाना निर्माणसगै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताए। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले समग्र पोखराको पहिचानका लागि नै पोखरा महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्न सकेको बताए । पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरामा चिडियाखानाको आवश्यकता भएकाले पोखराको पर्यटकीय सूचीमा चिडियाखाना थपिएको बताए।

कार्यक्रममा अमरसिंह नमुना उच्च माविका प्रधानाध्यापक नवराज पौडेलले बोलेका थिए। त्यस अवसरमा लोक गायनको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै पोखरा – १० का हरिमान गुरुङलाई सम्मान गरिएको थियो। सुपरस्टार राजेश हमाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका पुर्व सदस्य सचिवजुद्वबहादुर गुरुङ र क्लवका अध्यक्ष हिमालय बख्रेलले संयुक्त रुपमा सम्मान पत्र र
दोसल्ला ओढाएर उनलाई सम्मान गरेका थिए।

यसैवीच, महोत्सवको आकर्षणका रुपमा रहेको पोखरा तारा गायन प्रतियोगिताको नतिजा पनि बुधबार नै सार्वजनीक गरिएको छ। ४७ जनाको सहभागिता रहेको प्रतियोगितामा गोरखाका सुरज थापा मगर प्रथम र धादिड्डका धन गुरुङ द्वितिय भएको प्रतियोगिता संयोजक राज गुरुङले जानकारी दिए। प्रथम हुन सफल थापा मगरलाई नगद ५० हजार सहित एक वटा गित रेकर्ड र द्वितिय हुन सफल गुरुङलाई नगद २५ हजार सहित एउटा गित रेकर्डको अवसर प्रदान गरिएको छ।

युवा÷युवतीमा अन्तरनिहीत गायन प्रतिभा प्रस्फुटन गराउने उदेश्यले महोत्सवको चौथो संस्करणमा पहिलो पटक सो प्रतियोगिता समावेश गरिएको हो। युनाइटेड क्लबका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुकबहादुर गुरुङले स्वागत र कोषाध्यक्ष राजु श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...