भव्य समारोहकाबीच बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न, तेह्रौं साग नेपालमा हुने

सन्देश श्रेष्ठ
भारत, गुवाहाटी, ४ फागुन/भारतमा गत माघ २२ गतेदेखी शुरु भएको बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सम्पन्न भएको छ । भारतको गुवाहाटी र सिलोङमा माघ २२ गतेदेखी शुरु भएको सागको मंगलबार गुवाहाटीमा भव्य समारोहको आयोजना गरी समापन गरिएको हो ।
गुवाहाटीको ईन्दिरा गान्धी इन्टरनेसनल स्पोर्टस् स्टेडियममा आयोजित कार्यक्रममा सयौं विद्युतीय लाईटको प्रयोग गरी झिलिमिली पारिएको थियो । साथै आतसबाजी गरेर कार्यक्रमलाई उल्लासमय र भव्य पारिएको थियो । भारतले उद्घाटनमा जस्तै समापनलाई पनि भव्य बनायो । हजारौं दर्शक उपस्थित भएर कार्यक्रमको अवलोकन गरे ।

नेपालले ल्यायो सागको झण्डा

अब तेह्रौं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा नेपालले पाएको छ । हरेक २÷२ वर्षमा गरिने सागको आयोजना अब नेपालले आगामी सन् २०१८ मा गर्नुपर्नेछ । समापन कार्यक्रममा सागको झण्डा भारतीय ओलम्पिक एशोसियसन र साउथ एसियन ओलम्पिक कमिटीका अध्यक्ष द्वयले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे ।

आफूले ग्रहण गरेलगत्तै श्रेष्ठले खेलकुद मन्त्री सत्यनारायण मण्डललाई प्रदान गरे । सो अवसरमा नेपालको राष्ट्रिय गान बजाइएको थियो भने नेपाल सम्बन्धि एउटा छोटो डकुमेन्ट्री प्रस्तुत गर्नुका साथै नेपाली कलाकारले स्वागतम स्वागतम……………. भन्ने सांस्कृतिक गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

सन् २०१८ मा साग आयोजना गर्ने जिम्मा र सागको औपचारिक झण्डा ग्रहण गरेपछि समापन समारोहलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आगामी सागको आयोजना गर्ने जिम्मा दिएकोमा दक्षिण एसियाली देशहरु सबैलाई धन्यवाद दिए । उनले आउँदो सागको आयोजना गर्ने जिम्मा पाएकोमा गर्व महशुष भएको बताउँदै यसलाई भव्य, सभ्य र स्मरण योग्य बनाउने प्रतिबद्धता जनाए । साथै उनले यस वर्षको साग भव्य रुपमा सम्पन्न गरेकोमा भारतलाई बधाईसहित धन्यवाद दिए ।

समापन समारोहमा भारतका चर्चित व्याण्ड तथा कलाकारहरुले प्रस्तुती दिए । गुवाहाटी र सिलोङका सांस्कृतिक नृत्य समेत प्रस्तुत गर्दै अपरान्ह ५ बजे शुरु भएको कार्यक्रम राती ८ बजे समापन गरिएको थियो ।

कमेन्टहरु
Loading...