पहिलो चरणको निर्वाचन सम्पन्न ,५९१ जनाको हार पक्का भयो

मङ्सिर ९ , /आज इतिहासकै पहिलो पटक मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । यो पहिलो चरणको निर्वाचन हो , जुन ३२ जिल्लामा सम्पन्न गरिएको हो ।

उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साह पूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो । बेलुका ५ बजेसम्म ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

६ वटा प्रदेश भित्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभासदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको यो निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जना उम्मेदवारले हार व्यर्होनु पर्ने निश्चित छ । मतगणना भने दोस्रो चरणमा मंसिर २१ को निर्वाचन पछिमात्रै हुने निर्वाचन आयोगले यसअघि नै जानकारी गराइसकेको हुनाले परिणाम पनि त्यसपछि नै आउनेछ ।

गत कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । कात्तिक ८ गते सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ति उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो । जसमा १०० जनाको उम्मेदवारी फिर्ता भएको थियो भने एक जनाको उम्मेदवारी रद्द समेत भएको थियो ।

यसैबीच निर्वाचन सर्वेक्षण समिति नेपालले , निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको जनाएको छ।
यद्यपी  ती घटनाहरुका बीच पनि  निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको जनाएको छ ।

कमेन्टहरु
Loading...