धनकुटामा मौन अवधीको उल्लंघन , पैसा बाँड्दै गर्दा रङे-हात पक्राउ

धनकुटा, मंसिर २० – मौन अवधीमा चुनाव प्रचार–प्रसार गर्न नपाउने भएपनि धनकुटाका राजनीतिक दल मतदातालाई आफू तिर तान्न साम, दाम, दण्ड, भेदको नीतिमा अडिक रहेका छन् ।

जिल्लाको ग्रामिण क्षेत्रमा घरदैलो भेटघाट र कोठे बैठक गरिरहेका छन् । मतदान गर्ने तरिका सिकाउदै राजनीतिक दलका कार्यकर्ताले आ–आफ्नो चुनाव प्रचार गरेका छन् ।

त्यसैगरी मतदातालाई प्रभावित पार्न पैसा समेत बाँड्न थालेका छन् । मंगलबार राति पैसा बाँड्दै गरेको अवस्थामा राप्रपा प्रजातान्त्रिकका जिल्ला सदस्य राजकुमार राई धनकुटाको कागतेबाट पक्राउ परे । धनकुटामा भीरगाउँमा पैसा बाँड्न गएका राईलाई स्थानीय युवाहरुले लखेटदै पक्रेर प्रहरीलाई बुझाएका थिए । नगद एक लाख ७९ हजार सहित पक्राउ परेका राई लोकतान्त्रिक गठबन्धनका नेताको रोहबरमा छुटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी मतदातालाई प्रभावित पार्नको लागि धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनले हरेक मतदानस्थलमा यूवाहरुको दस्ता तयार गरेका छन् । ती यूवाहरु मतदातालाई सहयोग गर्नको लागि भनेपनि आवश्यक परेको वेला लडाई गर्न उपयोग हुने बताईएको छ ।

त्यसैगरी धनकुटामा वाम गठबन्धनले गाउँमा पैसा बाँड्न रोक्नको लागि युवा दस्ता परिचालन गरेको छ । ती युवाले पैसामा विक्ने मतदाता रहेको गाउँमा रातभरी निगारानी गरेको युवा बालकुमार राईले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँमा विभिन्न स्थल नजिकै मतदाताको लागि खाना र खाजाको व्यवस्थापन समेत राजनीतिक दलले गरेका छन् । भोजस्थलबाटै मतदाता प्रभावित गर्ने कार्य हुने स्थानीयबासीको भनाई छ ।

कमेन्टहरु
Loading...