पोखरामा विश्व साङ्गीतिक दिवसमा विभिन्न कार्यक्रम हुने

श्याम राना
पोखरा, ५ असार /स्टार्स स्टुडियो पोखराले विश्व सङ्गीत दिवसको अवसर पारेर पोखरामा असार ७ गते साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । उक्त अवसरमा गायक तथा सङ्गीतकार रामभक्त जोजिजु, कर्णदास र नृत्य निर्देशक गम्भिर बर्देवालाई विश्व सङगीत सम्मानबाट सम्मान गरिने छ । कार्यक्रम पोखराका अन्य १८ वटा वाङ्मयिक संघसंस्थाहरुको सहआयोजना छ ।

कार्यक्रममा बोल्दै त्रिवेणी सङ्गीतालयका प्रशिक्षक नवराज बरालले स्रष्टाहरुबीच एकता कायम गर्न कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले भने, ‘उत्तरी गोलाद्र्घको सबैभन्दा लामो दिनलाई साङ्गीतिक बनाउन कार्यक्रम आयोजना गरिएको हो ।’ सन् १९७६ मा अमेरिकी नागरिक जोल कोहनले परिकल्पना गरेको कार्यक्रममा फ्रान्सको संस्कृति मन्त्रालयका सङगीत तथा नृत्य निर्देशक मौरिस फ्लरेटले सन् १९८१ मा फ्रान्स सरकारलाई प्रस्ताव पेश गरेपछि संस्कृति मन्त्री ज्याक लङ्गको अगुवाईमा सन् १९८२ बाट सङ्गीत दिवस मनाउन सुरु गरिएको उनले सुनाए । उनले भने, ‘नेपालमा आजभन्दा २० वर्ष अघि भित्रिएको उक्त कार्यक्रम पोखरामा भने १५ वर्ष अघि भित्रिएकोे हो ।’

१५ औं संस्करण सम्म आइपुग्दा करिब ३ दर्जनभन्दा बढि नँया तथा पुराना पुस्ताका कलाकार सम्मानित भएको उनले बताए । जोजिजु म्युजिक स्कुलबाट स्थापित विश्व सङ्गीत प्रोत्साहन पुरस्कार गायक रोम तामाङलाई प्रदान गरिने उनले बताए । ‘सम्मानित स्रस्टाहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर नगद रुपैँया ५ हजार ५ सय ५५ प्रदान गरिने छ,’ उनले भने । हिमाली सांस्कृतिक अध्यक्ष मेनकाजी गुरुङले विश्व सङ्गीत दिवसले कलाकारलाई मात्र नभई सबैलाई समेट्ने बताए ।

उनले भने, ‘कलाकारलाई सम्मान गर्ने नाममा कलाकारिताका बारेमा थाहा नै नभएका व्यक्तिलाई सम्मान गर्दा लाज लागेर आउँछ ।’ प्रदेश नम्बर ४ मा प्रज्ञा प्रतिष्ठानको स्थापना हुनु पर्ने उनले माग राखे । गुरुङले सरकारले कला तथा संस्कृतिका लागि छुट्याएको बजेट प्रति असमहति जनाए । उनले भने, ‘५० लाख बजेट पनि बल्ल बल्ल कार्यान्वयनमा आउँदा दुःख लागेको छ ।’ बागलुङमा पनि विश्व साङ्गीतिक दिवस मनाउन लागिएको उनले जानकारी दिए ।

स्टुडियोकी प्रबन्ध निर्देशक जसु गुरुङले छोटो समयमा पनि कार्यक्रमको राम्रो व्यवस्थापन गरेको बताइन् । उनले भनिन्, ‘अघिल्लो वर्ष ३ वटा संस्थाको आयोजनामा भएको कार्यक्रम यो वर्ष हामी एक्लैले आयोजना गर्दै छौं ।’ उनले कार्यक्रमकालागि करिब ८५ हजार बराबरको खर्च लाग्ने बताइन् । कार्यक्रमको सह आयोजकका रुपमा पोखराका अन्य १७ सांस्कृतिक संघसंस्था छन् ।

कमेन्टहरु
Loading...