बगालेटोलको तायामचा नृत्य उत्कृष्ट

पोखरा, ६ भाद्र/यस वर्षको तायामचा नृत्य प्रतियोगिताको उपाधी बगालेटोल तायामचा समितीले हात पारेको छ । नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायामचा समितीको आयोजनामा भएको प्रतियोगितामा बगालेटोलले प्रथम हुँदै रु. २५ हजार नगद, शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

बगालेटोलको तायामचा नृत्य उत्कृष्ट
बगालेटोलको तायामचा नृत्य उत्कृष्ट

प्रतियोगितामा द्धितिय हुने तेर्सापट्टी तायामचा समितीले नगद रु.१५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरे । यसैगरि तृतिय हुने रामकृष्णटोल तायामचा समितीले नगद रु. १० हजार तथा सान्तन्वा स्थान हात पारेको भिमसेनटोल तायामचा समितीले रु. ५ हजार सहित शिल्ड प्रमाण पत्र प्राप्त गरेको आयोजक जाल्पादेबी तायामचा समितीका अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णमान ठुसाजुले बताए । प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट ख्याली, जोकर, बाद्यबादन तथा श्रृङ्गार र भेषभुषामा क्रमश गौंडाकोमुख भद्रकाली, शिसुवा, भैरवटोल र मोहोरियाटोल तायामचा समितीको टोली उत्कृष्ट हुँदै पुरस्कार हात पारेका थिए । शनिबार राती ११ बजे सम्म चलेको प्रतियोगितामा बसन्त उदासको संयोजकत्वमा ३ सदस्यिय निर्णायक रहेका थिए । जसमा मेघबहादुर ताम्राकार र मंगलप्रसाद माकाजु सदस्य थिए ।

महोत्सवमा बिक्रम उदासले यमराजको प्रवचन, मिस नेवा पुचले कुमारी र चर्या नाच, बगालेटोलले लाखेनाच प्रर्दशन गरेको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकार गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगुले सबै जातजातीले आफ्नो पर्वलाई उत्सबका रुपमा मनाए मात्रै चाडपर्वको अस्तित्व रहिरहने कुरामा जोड दिए । उनले पोखरा प्राकृतिक रुपमा मात्रै सुन्दर नभई साँस्कृतिक रुपमा पनि उत्तिकै मनमोहक रहेकाले यहाँ मनाईने बिभिन्न जातजातीका संस्कृति पनि पर्यटकको आकर्षण हुनसक्ने बताए ।

स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका नेता सोभियतबहादुर अधिकारीले आफ्नो जातीको साँस्कृतिक गतिविधीमा आफै अग्रसर भएर लागे मात्रै नया पुस्तामा संस्कृति हस्तान्तरणका लागि टेवा पुग्ने बताए । कार्यक्रममा स्वागत गर्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीका नेवार समुदाय आफ्नो भाषा, भेषभुषा, संस्कार र संस्कृति जगेर्ना गर्नका लागि जागरुक भएकोमा धन्यबाद दिए ।

उनले पुरातात्विक महत्वका यस्ता संस्कृतिहरु जगेर्नाका लागि राज्य पनि जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । छिट्टै सञ्चालनमा आउन लागेको नेवा छें भिमसेनटोलमा अवस्थित नेवा संग्राहलयका बिषयमा बोल्दै पालिखेले उक्त संग्राहालयले पोखराको पर्यटन आगमनमा इट्टा थप्ने बताए ।

कमेन्टहरु
Loading...