पोखरामा प्रथम ल्होसार महोत्सव हुने

पोखरा, १२ माघ /पोखरामा प्रथम ल्होसार महोत्सव हुने भएको छ । माघ १८ देखि २६ गते सम्म हुने महोत्सवको आयोजना नेपाल तामाङ घेदुङ नालामुख इकाई समितीले गर्न लागेको हो । मञ्जुश्री सम्वत् २८५५ औं सोनाम ल्होसारको अवसरमा आयोजित महोत्सवमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समाबेश गरिएको कार्यक्रम संयोजक अमन तामाङले जानकारी दिए । महोत्सवमा बिभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन् । महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता पनि हुने भएको छ ।

नृत्य प्रतियोगिताको विजेताले रु ३० हजार, गोल्डेन क्याप र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितिय हुनेले रु २० हजार, ट्रफी र प्रमाणपत्र, तृतिय हुनेले रु १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । महोत्सवमा बाल उद्यान, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य प्रतियोगिता, यसअघिदेखि नै निरन्तर चल्दै आएको चर्चित नृत्य प्रतियोगिता, नेपालमै पहिलो पटक कमेडी नृत्य प्रतियोगिता, जादु, घरायासीँ प्रयोजनका विभिन्न स्टलहरु, वल्र्डडान्स लिग नेपाल क्वालिफायरका विजेताहरुको प्रस्तुती, जनजाती म्युजियम, तामाङ संस्कृतिसंग सम्वन्धित स्टलहरु, स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको पप तथा आधुनिक कन्र्सट रहेका छन् ।

पोखरा प्रर्दशनी केन्द्रमा हुने महोत्सवमा कलाकार तथा व्याण्डहरु प्राजेक्ट वान, मंगोलियन हार्ट, नरेन लिम्वु, विजय लामा, आरम्भ तामाङ, मिस्टर डि, अल्मोडा राना उप्रेती, डिमर्चा, भाइ गुरुङ, छेवाङ लामा, निनाद, र मिलन लामाको प्रस्तुती रहने छ । यस्तै लोकदोहोरी तर्फ शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ, करन तामाङ, माया पुन, ज्योती मगर लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । दिपक थापाको जादु तथा पोखरेली माग्ने बुढाको हास्य प्रहसन पनि महोत्सवमा रहने छ ।

जनस्तरका सभ्यताहरुलाई आम नेपालीहरुको सभ्यताका रुपमा विकास गर्न यस्ताखाले प्रयासहरुले सार्थक भूमिकासमेत निर्वाह गर्ने आयोजकको विश्वास रहेको छ । आदिकालदेखि मुलुकको विभिन्न स्थानमा छरिएर रहेका तामाङहरुले आफ्नो सभ्यता र संस्कृतिको ऐतिहासिक मुल्य मान्यतालाई मन्जुश्री सम्वत मार्फत संरक्षण गर्दै आएका् छन् । नयाँ बर्षका रुपमा परिचित सोनम ल्होछार तामाङ समूदायका लागि एक पवित्र र उल्लासयुक्त पर्व हो ।

कमेन्टहरु
Loading...