अभिनयको भोक मेट्न चाहन्छुः सिमा गुरुङ

पोखरा ९ फागुन/पोखरामा मञ्चन भइरहेको नाटक सिरुमारानीको मुख्य पात्र सिरुको वास्तविक नाम सिमा गुरुङ हो । पोखराको टुडिखेलमा जन्मिएकी उनी हाल पोखरा लामाचौरमा बस्छिन् । उनलाई रंगमञ्चसम्म ल्याउने कार्य माओत्से गुरुङले गरे । कलाकारको रुपमा उनी पोखरा थिएटरमा आइपुगिन् । उनलाई सुरुमा सुन्दरीको भुमिका दिने तयारी थियो । तर उनीमाथी थिएटरको विश्वास बढ्यो ।

फलस्वरुप मुख्य भुमिकामा उनी देखिइन् । सिरुमारानी मार्फत आफ्नो अभिनय क्षमता देखाएकी उनलाई अभिनय सम्बन्धी भोक झनै जागेको छ । ‘एक्टिङ गर्ने भोक थियो, अझै भोक जागेको छ’ हाँस्दै उनले भनिन् । अब निरन्तर थिएटरको माध्यमबाट नाट्यप्रेमीमाझ देखिने तयारी उनको छ । ‘नाटकमा सबै कलाकारको भुमिका उत्तीकै हुने भएकोले आफुलाई फिट हुने भुमिका पाएमा म निभाउँछु’ उनी वाचा गर्छिन् । ‘कुनै नाटकमा म फिट नहुन पनि सक्छु तर फिट हुने ठाउँ छ भने म अभिनय गर्छु’ उनले थपिन् । उनको अर्को लक्ष्य सर्ट मुभि बनाएर फिल्म फेस्टिभलमा पठाउने छ ।

उनको स्वभाव अलि पृथक छ । उनलाई सबै सामु देखिने चिनिने रहर छैन । तर उनी अभिनयको माध्यमबाट आफ्नो अभिनयको भोक मेट्न चाहन्छिन् । उनको मुख्य लक्ष्य सफल निर्देशक बन्ने छ । माओत्से गुरुङले निर्देशन गरेको चलचित्र मनको बाबरीमा सहनिर्देशनको जिम्मा उनले पुरा गरिसकेकी छन् । अञ्जली बोडिङ स्कुलबाट प्रवेशीका परिक्षा उत्रिर्ण गरेकी उनले ज्ञानुबाबा मा प्लस टु अध्ययन गरिन् । उनको निर्देशनमा सर्ट फिल्म लेकाली फूल निर्माण भइसकेको छ । प्रर्दशन भइनसकेको यस फिल्मको कथा समेत उनलेनै लेखेकी हुन् ।

अभिनयको भुत उनलाई सानैदेखि चढ्दै गएको हो । उनले विभिन्न चलचित्र हेर्दै अभिनयकला सम्बन्धि ज्ञान लिन्थिन्। नाटकमा अभिनय गर्दा थोरै मानीसले चिन्ने र खुलेर आफ्नो अभिनय क्षमता देखाउन पाइने भएकोले उनको रोजाइमा नाटक प¥यो । उनको परिवारमा बाबा, आमा, दाइ, भाउजु र भाई छन् । उनले चलचित्र निर्देशन सम्बन्धी जानकारी अनलाइन मार्फत लिई आफुलाई अपडेट राख्छिन् ।

नारीले आफुमाथी जबरजस्ती लादिएको कर्तव्यको सट्टामा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथा रहेको नाटकमा उनले निभाएको भुमिकालाई नाटक हेर्ने दर्शकले मन पराएका छन् । उनलाई चलचित्रमा अभिनय गरेर चर्चामा आउने, मोडलिङ गर्ने, फोटो सुट गर्ने रहर भने छैन । उनी नाट्यप्रेमी केही दर्शकमाझ आफ्नो अभिनय क्षमता देखाउदै आफ्नो अभिनय गर्ने भोक मेटाउन चाहन्छिन् । उनलाई फत्तेमान राजभण्डारीका गीत सुन्दै मनलाई बहलाउन मनपर्छ ।

कमेन्टहरु
Loading...