भदौ १७ गते पोखरामा ‘सिग्नेचर’ स्क्रिनिङ हुँदै

पोखरा, ३१ साउन/सकारात्मक सोँच सम्बन्धि विश्वव्यापी अभियान चलाईरहेको फिल्म ‘सिग्नेचर’ले पोखरामा विशेष स्क्रिनिङ गर्ने भएको छ । भदौ १७ गते पोखराको सभागृहमा हुने स्क्रिनिङलाई स्कुल फाउन्डेशनले स्थानियस्तरमा आयोजना गरेको हो । सभ्य सृजना प्रालिले स्क्रिनिङको प्रस्तुती गरेको हो ।

‘नकारात्मक सोँच र संगतले मानिसको जीवनलाई अन्धकारतर्फ लैजान्छ’ भन्ने सन्देश बोकेको यो फिल्मलाई सागर उद्गमले निर्देशन गरेका हुन् । ‘खासगरि अहिलेको युवापुस्ता जो लागुऔषधको कुलतमा फसेको छ । आखिर यसको कारण के हो ? र, यसलाई कसरी निवारण गर्न सकिन्छ ? भन्ने विषयमा फिल्म बनेको छ ।’ निर्देशक उद्गमले भने–‘त्यसैले यो हरेक वर्गको लागि हेर्र्नैपर्ने फिल्म बनेको छ ।’ चलचित्रले सकारात्मक व्यवहारको विकास र आशाबादी जीवन जिउन उत्प्रेरणा दिने भएकोले पनि यसलाई अभियानको रुपमा अगाडि ल्याईएको यसको निर्माण पक्षले जनाएको छ ।

फिल्मलाई निर्देशक उद्गमसहित गीतकार समेत रहेका प्रकाश सुवेदीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेवि डिसी, सरिता लामिछाने लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीले सँयुक्त रुपमा छायाँकन गरेका हुन् ।

अच्युत सिटौलाको संगीत रहेको फिल्मलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो फिल्मले स्वास्थ्य मन्त्रालयबाट ‘अवार्ड अफ एक्सिलेन्स’ समेत प्राप्त गरिसकेको छ । सकारात्मक सोँचको विश्वव्यापी अभियान चलाईरहेको यस फिल्मको निर्माण यूनिटले विभिन्न स्थानमा त्यहाँका स्थानियहरुसँग मिलेर फिल्मको प्रदर्शनी गर्दै आएको छ ।

पोखरामा यो फिल्म स्क्रिनिङका लागि अर्किड केयर होम, एजुकेशन एण्ड माइग्रेशन कर्नर, यूनिग्लोबल विजनेश गु्रप–एजुकेशन एण्ड भिजा, बाजेको सेकुवा कर्नर, ओस्कार कलेज अफ फिल्म स्टडिज र मितेरी साँस्कृतिक कला केन्द्रले विशेष सहयोग गरेका छन् । साथै यो फिल्म पोखरामा स्क्रिनिङको लागि कपिल पौडेलको पनि विशेष सहयोग रहेको आयोजकले बताएको छ ।

पोखरामा आगामी भदौ १७ गते हुने स्क्रिनिङमा सकारात्मक सोँचसम्बन्धि हस्ताक्षर संकलन कार्यक्रम, निशुल्क स्वास्थ्य सामाग्री वितरणसँगै एचआइभी एड्स सम्बन्धि काउन्सिलिङ पनि गरिने आयोजकले जनाएको छ । यो अभियानमा यूएनएड्स, गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा संचार, संस्कृति तथा पर्यटन मन्त्रालयसँगै चलचित्र विकास बोर्ड, लायन्स क्लब अफ इन्टरनेशनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एड्स एण्ड एसटीडी कन्ट्रोल लगाएतका संस्थाहरुले सहकार्य गरिरहेका छन् ।

कमेन्टहरु
Loading...