पुलिस र प्यास’ नाटक मञ्चनको तयारी पुरा

राजाराम पौडेल/ पोखरा
बैशाख १७ र १८ गते पोखरामा मञ्चन हुने ‘पुलिस र प्यास’ नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको छ । पञ्चामृत नाट्य समुह पोखराको संयोजनमा नाटकको मञ्चन पोखरा उद्योग वाणीज्य संघको हलमा गर्ने सम्पुर्ण तयारी पुरा भएको संयोजक परिवर्तनले जानकारी दिएका छन् ।

नाटक दुवै दिन दिउँसो ४ बजेबाट मञ्चन गरिने उनले जनाए । पञ्चामृत नाट्य समुहमा परिवर्तन, प्राञ्जल, दिपक पराजुली, रामचन्द्र आरसी र रविन शर्मा रहेका छन् । कृष्ण उदासीको लेखन निर्देशन रहेको नाटकमा परिवर्तन, दिल प्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, विवश बाबु, मुना गुरुङ, सितल अधिकारी लगायतको अभिनय रहेको छ । नाटकमा चोर, जड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्र मार्फत समाजमा भइरहेको विकृती र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको नाटककार कृष्ण उदासीले बताए ।

‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ ।’ उदासीले भने । उदासीको यो १ सय ३ औँ नाटक हो । यस अगाडी उनले १ सय २ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । नाटकमा परिवर्तन इनिक्स्पेक्टर कालुरामको पात्रमा देखिने छन् । हवल्दार फुलमतीको भुमिका मुना गुरुङ, आस्था नामको पागलको भुमिका सितला अधिकारी, दुक्किलाल जुवाडेको भुमिका दिलप्रसाद गुरुङले निभाउँदै छन् । यसैगरी अनुमती मैया यौन व्यवसायीको भुमिका सवु पाठक, नत्थुराम जड्याको भुमिकामा आशिष अधिकारी र टोलप्रसाद चोरको भुमिका विवश बाबु देखिने छन् ।

मनिषा गौतमको अभिनय सँगै सहनिर्देशन समेत रहेको छ । परिवर्तनको संयोजन र व्यस्थापन रहेको यस नाटकमा सुत्राधार अश्रुलता बास्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस. के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगित संयोजन रविभूषण पराजुलीको रहेको छ । विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरकपन यसमा पाइने नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरु मार्फत नाटकपारखीहरुले नाटकको तृष्णा सहजै मेटाउन सक्ने दावी उनको छ ।

पोखरामा नाटक हेर्ने दर्शक रहेकोले नाटक मार्फत अगाडी बढ्न खोज्नेलाई पोखरा उत्तम रहेको उदासीले बताए । राम्रो व्यस्थापनमा नाटक प्रर्दशन हुने हो भने सजिलै लगानी उठाउन सकिने उनको अनुभव छ । नाटकको मञ्चनको लागि केहि दिनको वर्कसप पश्चात तयारी पुरा भएको हो । पोखरामा नाटकको सम्भावना राम्रो भएकोले नाट्य क्षेत्रमा अगाडी बढ्ने उर्जा मिलेको उनी बताउँछन् । ‘पोखरामा युवाहरुको आर्कषण नाटकमा छ, नाटक हेर्ने दर्शक पनि छन् ।’ उनले भने । सुस्ताएको पोखरेली नाट्य क्षेत्रलाई अन्तराष्ट्रिय रक्सि भट्टी मञ्चन प्रश्चात व्युताँइदिएको दावी उनी गर्छन् ।

पोखरामा नाटकघर हुने हो भने नाट्य क्षेत्रमा काम गर्न सहजता हुने उनले बताए । ‘नाट्य एकेडेमि भए रिर्यसल गर्न सहज मात्र होइन कलाकारलाई व्यवसायीक बनाउन सकिन्छ,पहिला निर्वाह गरियो यस्मा ध्यान दिइएन अहिले मुख्य आवश्यकता यहि बनेको छ ।’ उनले भने । अग्रजहरुको इच्छाशक्ति नहुँदा संगीत नाट्य प्रतिष्ठान पोखरामा स्थापना हुन नसकेको उनको भनाइ छ । ‘पुर्वका कलाकारसित पश्चिमका कलाकारले लड्न सक्दैनन् यतिमात्र होइन नयाँ कलाकारको जन्मले आफु पछाडि पर्ने डर स्थापित नाट्यकर्मीमा छ ।’ उनी दावी गर्छन् ।

विगतमा डाँफे कला मन्दिर, पोखरा उद्योग वाणीज्य संघको सभाहल, पोखरा सभागृहमा नाटक देखाउने गर्दा छुट्टै नाटकघर बनाउन तर्फ पुहँच भएका नाट्यकर्मीको ध्यान समेत पुग्न नसकेको उनी बताउँछन् । नाटकमा सबै रगंमञ्चका लागि नयाँ कलाकार भएपनि उनीहरुको अभिनय यति सम्म खारिएको छ कि नाटक हेर्दा दर्शकले उनीहरु नयाँ कलाकार हुन् भन्ने पत्ता लगाउनै नपाउने उदासीको दावी छ ।

कमेन्टहरु
Loading...