पोखरा थियटरमा ‘सिरुमारानी’ मञ्चन हुने

पोखरा २० माघ/पोखरा ग्रैह्रापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटरमा सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘सिरुमारानी’ मञ्चन हुने भएको छ । थियटरको उद्घाटन नाटकको रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्रेष्ठको लेखनको नाटक मञ्चन गरिने शनिबार पोखरा थियटरले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

फागुन २ गते थियटरको उद्घाटनसँगै नाटक मञ्चन हुनेछ । फागुन ३ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट थियटरमा बसेर नाट्यपारखीले नाटकको मज्जा लिन पाउनेछन् । शनिबार अतिरिक्त सो समेत हुनेछ । थियटरका अध्यक्ष परिवर्तनको संयोजनमा मञ्चन हुने नाटकको निर्देशन सोमनाथ खनालले गर्दैछन् । नाटकमा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय रहनेछ ।

पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतम, धनबहादुर गायकको अभिनयले पोखरेली रगंमञ्चलाई माया गर्नेहरु थप उत्साहित बन्नेछन् । साथमा विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङ र रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरगं ल्याउने दावी थियटरको छ ।

नेपाली लोककथामा आधारित सरुमारानी नाटकमा मानवीय तृष्णा र महत्वाकाङ्क्षा तथा राजनीतिक बेथिति र विसङ्गतिको कथा उतारिएको छ । ‘लोक नाटकमा पाइने तत्वलाई आधुनिक रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको छ’ नाटककार सरुभक्तले बताए । अग्रज नाट्यकर्मी प्रकाश घिमिरे अब निरन्तर पोखरेली रगंक्षेत्रमा सक्रिय बन्ने बताउँछन् । ‘पोखराको रगंमञ्चमा केहि गरौ भन्ने थियो, अवसर मिलेको थिएन अब जोशमा कमी आउदैन’ उत्साहित हुँदै उनले भने ।

पोखराको रंगमञ्चमा १८ वर्षपनि पुनः देखिन लागेका चलचित्र निर्देशक समेत रहेका कलाकार माओत्से गुरुङले अब पोखरेली रंगमञ्चमा निरन्तर समय दिने बताए । नाटकका निर्देशक सोमनाथ खनालले नाटकमा अभिनय गर्ने कलाकारको टिम मजबुत रहेको बताए । उनीहरुको उत्साहका कारण अपेक्षा गरेभन्दा झनै उत्कृष्ट तरिकाको नाटक बन्नेमा विश्वस्त रहेको उनले बताए । ‘नयाँ कलाकारसँग काम गर्न रमाइलो लाग्छ, उत्साहित छु’ निर्देशक खनालले भने ।

पोखरा थियटरको पहिलो ब्याचका नवप्रवेशी कलाकारहरुलाई मण्डला थियटरका व्रिmयटिभ डाइरेक्टर राजन खतिवडा, मण्डलाका अध्यक्ष तथा कलाकार दयाहाङ राई, कलाकार बुद्धि तामाङ, सोमनाथ खनाल, सुदाम सी. के., विकास जोशी, खगेन्द्र लामिछाने, मनोज पण्डित, श्याम खड्का, सरुभक्त, प्रकट पगेनी ‘शिव’, तीर्थ श्रेष्ठ, प्रकाश घिमिरे, धनबहादुर गायक, प्रमिला तुलाचन, रमेश श्रेष्ठ, विष्णु नेपाली, मनोज गुरुङ, गनेस पौडेल, रुपिन्द्र प्रभावीलगायतले अभिनयका विभिन्न शैलीबारे सहजीकरण गरी उनीहरुको अभिनयमा निखारता प्रदान गरिरहेको थियटर अध्यक्ष परिवर्तने जनाए ।

कमेन्टहरु
Loading...