पोखरा थिएटरमा नाटक ‘घेरो’ले मन जित्दै

पोखरा, २४ मंसिर/ पोखरा थिएटरमा नाटक घेरोले दर्शकको ध्यान खिचिरहेको छ । मंसिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक घेरो हेर्न दर्शकले नाटकलाई मन पराएका छन् । युथ क्रियसन थिएटरको छैटौं प्रस्तुति नाटक घेरोले सामाजिक अन्धविश्वास र रुढीवादीलाई ब्यंग्य गरेकोमात्रै छैन, धार्मिक लोक परम्परालाईसमेत आत्मसात गरेको छ ।

मंसिर २९ गतेसम्म चल्ने नाटक घेरोमा अझै पनि नेपाली समाजमा अन्धविश्वास कसरी जकडिएको छ भन्ने देखाउन खोजिएको छ । घरको दैलोमो चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकले रोचक ढंकले देखाएको छ ।

हिन्दु धार्मिक मान्यता, परम्परालाई समेट्दै बनेको यो नाटकमा माइतीबाट फर्केको दम्पती घर पुगेर दैलो खोल्नेबित्तिकै चामलको घेरो देखिन्छ । त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई नाटक ‘घेरो’ले देखाउन खोजेको छ ।

बालनको शैलीमा भजनमार्फत कथा वाचन हुँदै जाँदा दर्शकलाई रोमाञ्चित बनाउँछ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र अनिका सापकोटाले प्रमुख दम्पत्तीको अब्बल अभिनय गरेका छन् भने ममता मञ्जुलको अभिनयले पनि धेरैको ध्यान खिच्छ ।

नाटक केदार पौडेलले लेखेका हुन् । यो उनको पहिलो नाटक हो । पौडेलले पनि नाटकमा कहिले भैंसी त कहिले झाँक्रीको भूमिका निर्वाह गरेका छन् । नाटक प्रत्येक साँझ ५ बजे मञ्चन भइरहेको छ भने शनिबार १ बजे पनि मञ्चन हुने व्यवस्थापक सौगात पोखरेलले बताए ।

नाटकमा सञ्जय न्यौपाने, अञ्जना पौडेल, प्रसुन लगायतले अभियन गरेका छन् भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् । यसअघिका नाटकमा कलाकारका रुपमा देखिएका थिएटरका अध्यक्ष कपिल शर्माले कुशल निर्देशकीय भूमिका देखाएका छन् । मधुसूदनले भजन लेखेका हुन् । नाटक घेरो युथ क्रियसनको छैटौं प्रस्तुति हो ।

नाकट घेरो थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा फरक र भिन्न स्वादको भएकाले पोखरेली दर्शकको मन जितिरहेको व्यवस्थापक सौगात पोखरेलले बताए । ‘हामीले रुढ समाजलाई देखाउनमात्रै खाजेका छैनौं, समाजका विभिन्न आयामहरुलाई पनि देखाउन खाजेका छौं,’ सौगातले भने ।

कमेन्टहरु
Loading...