पोखरामा बिहीबारबाट राष्ट्रिय नाटक महोत्सव हुने

पोखरा, ६ चैत्र/नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सव पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा चैत्र ८ गतेबाट चैत्र १४ गतेसम्म सञ्चालन हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।

महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झा ले बताए । देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर मिल्ने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए ।

नाटक महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गर्दैछ । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । महोत्सवको उद्घाटन चैत्र ८ गते विहान ११ बजे प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङले गर्नेछन् ।

महोत्सवमा चैत्र ८ गते र ९ गते थाङ्ला, १० र ११ गते एन्टिगोनी नाटक मञ्चन हुनेछ । यसैगरी भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानिघट्ट, चाँदिको घेरा, सखि लगायतका नाटक महोत्सवमा मञ्चन हुनेछन् । फेस्टिभल अवधिभर हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ । आवश्यकता अनुसार सो समय थप्न सकिनेछ । महोत्सवमा मञ्चन गरिने नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि तीन सय र पाँच सयको टिकट लाग्नेछ । महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समिक्षा समेत गर्दै दर्शकको फिडब्याक लिने आयोजकको तयारी छ ।

कमेन्टहरु
Loading...