‘पोखरामा प्रमोद खरेल’को बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक

पोखरा, १५ चैत /पोखरामा प्रमोद खरेल कार्यक्रमको बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंकले सहकार्य गरेको छ । कार्यक्रमको व्यवस्थापक कम्पनी बार्दली मिडिया प्रालिसँग बैंकले कार्यक्रमको लागि व्यवसायिक सहकार्य गर्ने सम्झौता गरेको हो ।

बैंकिङ पार्टनर टाइटलमा बैंकले यो इभेन्टसँग सहकार्य गरेको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसँगै सहायक प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल र बार्दली मिडिया प्रालिको तर्फबाट प्रबन्ध निर्देशक मन क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

‘पोखरामा हुन लागेको यो वृहत साँगीतिक कार्यक्रमको सहयोगीको रुपमा हामी आउन पाउँदा खुशी छौँ ।’ सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले भने । त्यस्तै अर्का सहायक प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बैंक सँधै सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा अगाडि आउने विश्वास दिलाए । यो कार्यक्रमसँग जोडिनु पनि सामाजिक उत्तरदायित्व वहन भित्रै पर्ने मल्लले प्रस्ट पारे ।

त्यस्तै बार्दली मिडिया प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले बैंकिङ पार्टनरको रुपमा ओम डेभलपमेन्टलाई इभेन्टमा ल्याउनु सुखद भएको प्रतिक्रिया दिए । ‘यो हाम्रो लागि निकै खुशीको कुरा हो । पोखराको साँगीतिक माहौललाई अगाडि बढाउने हाम्रो उद्देश्यमा ओमको यो साथले झन् बढि उत्साह थपेको छ ।’ बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने ।

यही चैत २२ गते पोखरा सभागृहमा हुने विशेष साँगीतिक कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि यतिबेला आयोजक र व्यवस्थापक कम्पनीले तयारीलाई तिव्र पारिरहेको छ । इभेन्टलाई सफल बनाउन थुप्रै व्यवसायिक संस्थानहरुले पनि यो इभेन्टलाई सघाएका छन् ।

यसअघि यो इभेन्टका लागि प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशन, होटल पार्टनरमा द कल्चर रिसोर्ट, रेस्टुरेन्ट पार्टनरमा बाजेको सेकुवा लगाएत कम्पनीहरुले व्यवसायिक साझेदारी गरिसकेका छन् ।

कमेन्टहरु
Loading...