‘पञ्चेबाजा’ले दर्शकलाई शतप्रतिशत मनोरञ्जन प्रदान गर्ने दाबी

पोखरा, ८ फागुन/दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै फिल्म पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म पञ्चेबाजाको प्रचार अभियान अन्तरगत पोखरा आएको टोलीले यो दाबी पेश गरेको हो ।

‘दर्शकलाई मनोरञ्जन दिने कुरामा हामीले ग्यारेन्टी लिन सक्छौँ ।’ निर्देशक घनश्याम लामिछानेले भने–‘दर्शकले हामीलाई गाली अवश्य गर्नेछैनन् ।’ फिल्मको कथावस्तु नै त्यस्तै भएकोले दर्शकले यसलाई निकै रुचाउने उनको तर्क थियो ।

नेपाली फिल्मको कस्तो धारलाई दर्शकले ठ्याक्कै रुचाईरहेका छन् भन्ने अझै यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपी फिल्म पञ्चेबाजाको टोलीले आफ्नो दाबी खेर नजाने बताउँदै आएको छ । चल्तीका कलाकारहरु, फिल्मका लागि आवश्यक मसलेदार ‘स्क्रिप्ट’ र ‘स्क्रिनप्ले’को आधार पेश गर्दै निर्देशक लामिछानेले भने–‘हामीले भनेको कुरालाई साक्षात महशुस गर्नका लागि फिल्म हेर्न म सम्पूर्ण दर्शकहरुलाई आग्रह गर्दछु ।’

फिल्मका निर्माता राजेश शाहिले पनि आफूले यसअगाडि निर्माण गरेका फिल्मको तुलनामा पञ्चेबाजा अझै बढि उत्कृष्ट बनेको बताए । ‘फिल्म राम्रो बनाउनका लागि हामीले कुनै कुरामा कम्प्रोमाइज गरेका छैनौँ ।’ निर्माता शाहिले भने–‘दर्शकले हाम्रो कामलाई रुचाउने कुरामा हाम्रो टिम ढुक्क छ ।’

देश दौडाहाको शुरुवाती प्रेस मिट पोखरामा गरेको पञ्चेबाजा यूनिटले फिल्मले दर्शकलाई नयाँ स्वाद पस्कने दाबा समेत ग¥यो । पोखरामा भएको प्रेस मिटमा नायिका जस्मिन श्रेष्ठ, अभिनेता प्रकाश घिमिरे, अभिनेत्री प्रमिला तुलाचन लगाएतको उपस्थिती रहेको थियो । कलाकारहरुले फिल्मबाट निकै आशाबादी भएको प्रतिक्रिया दिए । पोखरा र आसपासमै बढि छायाँकन भएको फिल्मका मूख्य कलाकारहरु भने प्रेस मिटमा सहभागी भएनन् । फिल्ममा सौगात मल्ल, कर्मा, सृजना सुब्बा, बुद्धि तामाङ लगाएतका कलाकारहरुको मूख्य भुमिका रहेको छ ।

पछिल्लो समय यो फिल्मको ‘घिनघिन मादल’ बोलको गीत यूट्युबमा हिट छ । गीत हिट भएसँगै फिल्मको निर्माण यूनिटले फिल्मको व्यापारलाई लिएर अझै बढि आशाबादी देखिएको छ ।

कमेन्टहरु
Loading...