विश्वराज पराजुलीको एकल चित्रकला प्रदर्शनी पोखरामा सुरु

पोखरा, १४ पुस /सिर्जनशील कलाकार समूह पोखराको आयोजनामा कलाकार विश्वराज पराजुलीको पानी रंगमा सिर्जित “द व्युटीफुल एन्ड द सबलाइम” शीर्षकको एकल चित्रकला प्रदर्शनी विहिबार पोखरामा सुरु भएको छ ।

चित्रकलाको समुदघाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी शर्माले कलाकार पराजुलीका कला पोखरामा मात्रै सीमित नराखी अन्तर्राष्ट्रिय तहको प्रदर्शनीमा लैजानु पर्ने अब्बल दर्जाका कला रहेको जनाए । कलामा केवल रंग र रेखा मात्रै होइन दर्शन र मनोविज्ञान पनि रहेको हुने हुँदा कलाकारको अनुभव र अनुभूति कलामा अनुवाद भएको धारणा राखे ।

वरिष्ठ कलाकार दुर्गा बरालले कलाकार पराजुलीको परिचय दिदैं १४ वर्ष अगाडि त्रिभुव विश्वविद्यालयमा उनको कला प्रदर्शनी हेरेदेखि नै प्रभावित भएको थिएँ, आज उनका कलामा निखार आएको पाउँदा खुशी लागेको बताए । पानी रंगमा कला सिर्जना गर्नु अत्यन्तै जोखिम छ, पानी रंग चलाउनु जङ्गली घोडा चढ्नु जस्तै चुनौती भएको बरालले बताए । पानी रंगमा पादर्शिताका साथै भावनाहरुलाई बग्न दिनुपर्ने विचार बरालले राखे ।

कलाकार पराजुलीले पोखरा विश्वविद्यालयमा प्राध्यापनको पेशा अँगाले पनि कला आफ्ना लागि प्यासन भएको हँुदा कलाकारितालाई निरन्तरता दिदै आफ्नो क्रियाशीलतालाई हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । चित्रकलामा पोखरा पानी रंगको शहरका रुपमा परिचत छ, शिल्प र शैलीका दृष्टिले पोखरेली कलाको स्वाद फरक भएको मान्यतालाई स्थापित गर्न आफू लागिपर्ने जनाए ।

प्राकृतिक सुन्दरता र मनमोहक दृश्यलाई ५२ वटा क्यानभासमा पानी रंग मार्फत् अभिव्यक्त गरिएका प्रत्येक कलाको तरंगले दर्शकको मन छुने खालका छन् । पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा पुस २० गते सम्म प्रदर्शनी चल्ने जानकारी संस्थाका सल्लाहकार बुद्धि गुरुङ दिए । सिर्जनशील कलाकार समूहको अध्यक्ष सूर्य बरायलीको सभापतित्वमा सम्पन्न समुद्घाटनमा उपाध्यक्ष मनोज तामाङले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव जगत पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...