नृत्य कार्यशालामा ‘झाम्रे’देखि ‘हुडुलधुरा’सम्मको चर्चा

पोखरा, २६ चैत /राष्ट्रिय नृत्य निर्देशक कार्यशाला अन्तरगत सोमबार मगर समुदायको झाम्रे नृत्यदेखि हुडुलधुरा नृत्यसम्मको कार्यपत्र प्रस्तुत भए । पोखरामा जारी कार्यशालामा सोमबार कुल १५ वटा कार्यपत्र प्रस्तुत भएको आयोजकले बताएको छ ।

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले पोखराको अनुशीलन कला पाठशालासँगको सहकार्यमा यो कार्यशाला गरेको हो । कार्यशालामा देशभरका फरकफरक विधाका लोक नृत्य निर्देशकहरुको सहभागिता रहेको छ ।

चैत २२ गतेदेखि शुरु भएको कार्यशाला अन्तरगत सोमबार ३ वटा सेसनमा नृत्य निर्देशकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । पहिलो सेसन अन्तरगत अमन गुप्ताले मेचे समुदायको नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै मगर समुदायको हुर्रा नृत्यको विषयमा सन्तोष मगर र भुपेन्द्र रिखामले सँयुक्त कार्यपत्र प्रस्तुत गरे भने पवित्रा खड्काले तामाङसेलोको विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

पहिलो सेसन अन्तरगत मुसहर समुदायको हुरका नृत्यको कार्यपत्र अन्तिम बन्यो । अनु रजकले हुरका नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

तुलसी प्रभासले नेवार समुदायमा नाचिने डण्डी नृत्यलाई दोस्रो सेसनको शुरुवातमै आप्mनो कार्यपत्रको विषय बनाए । त्यस्तै सभेक्षा म्याङ्बोले धान नाच, मनोज राजवंशीले विदापद, गमबहादुर गुरुङले कृष्ण चरित्र र अमृत प्रसाँईले हुडुलधुरा नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । केही फरक र लोपोन्मुख विधाको नृत्यको विषयमा जानकारी लिन पाउँदा सहभागीहरु दंग परेका थिए ।

सोमबारको अन्तिम सेसन अन्तरगत नगेन्द्र राईले धिमाल र स्यादर पिदार, ओमप्रकाश बस्नेतले विदापद, मनोज राजवंशीले झिझिया नृत्यको कार्यपत्र प्रस्तुत गरे भने मगर समुदायको झाम्रे नृत्यको विषयमा हर्क आलेले कार्यपत्र प्रस्तुत गरे ।

चैत २६ गतेसम्म चल्ने राष्ट्रिय लोकनृत्य कार्यशाला सहभागीहरुसँगै आयोजकका लागि पनि निकै लाभदायक रहेको कार्यक्रम सँयोजक समेत रहेका अनुशीलन कला पाठशालाका गोरे गुरुङले बताए । ‘हामीले जे सोँच राखेर यो कार्यशाला आयोजना गरेका थियौँ । त्यो सोँचअनुसार नै हामीले सफलता पनि पायौँ ।’ गोरे गुरुङले भने ।

कमेन्टहरु
Loading...