‘नेपथ्य’ कन्सर्टका निम्ति प्राविधिक टोली पोखरामा

पोखरा, २८ माघ/शनिबार आयोजना हुने ‘नेपथ्य’को खुला कन्सर्ट तयारीका निम्ति स्टेज प्राविधिक टोली मंगलबार पोखरा आइपुगेको छ । पहिलो चरणमा स्टेज तयार पार्ने समूहसँगै क्रमशः अन्य प्राविधिक टोली पनि आउने क्रम सुरुभएको जानकारी आयोजक नेपालयले दिएको छ । ‘स्टेज निर्माणका साथै कार्यक्रम स्थल व्यवस्थापनको काम पनि सुरु हुनेछ,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठले भने, ‘तीन दिन भित्रमा स्टेज तयार भइसक्नेछ ।’

स्टेजको निर्माणसँगै कार्यक्रमस्थलको दुई भागमा ठूलो पर्दा लगाएर कन्सर्टको प्रत्यक्ष प्रशारणको व्यवस्था पनि गरिने भएको छ । त्यसले विशेष गरेर पछाडि बस्ने दर्शकहरुलाई स्टेजका गतिविधि नजिकबाट नियाल्न सघाउ पुग्नेछ । पहिलो चरणमा आइपुगेको प्राविधिक टोलीकै साथमा आफु लगायत नेपालयको व्यवस्थापन समूह पनि पोखरा आइपुगेको जानकारी श्रेष्ठले दिए । उनका अनुसार दर्शक अवलोकन स्थललाई टिकटको मूल्य बमोजिम चार भागमा विभाजन गरिनेछ ।

साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ
साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ

हरेकका निम्ति फरक फरक प्रवेशद्वारको बन्दोवस्त गरिएको छ । १९ सय ९९ रुपियाँ पर्ने टिकटका निम्ति बस्ने कुर्सीको व्यवस्था गरिएको छ भने बाँकीका दर्शकले उभिएरै कन्सर्टको आनन्द लिनसक्ने छन् । यसबाहेक सुरक्षाका दृष्टिकोणले तयारीका काम पनि सुरुहुने भएको छ । ‘हजारौं दर्शक एकसाथ जम्मा हुने स्थानमा सक्दो सुरक्षाको प्रत्याभूति दिइने छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसको तयारी दर्शकदीर्घाको बन्दोबस्तबाटै थालनी गर्नेछौं ।’ कार्यक्रमस्थलमा प्राथमिक उपचार र खानेपानी उपलब्ध गराउने व्यवस्था पनि आयोजकले गर्नेभएको छ ।

त्यसैगरि भैपरिआउने परिस्थितीका निम्ति पनि एम्बुलेन्स लगायतको व्यवस्था प्रदर्शनी केन्द्रको मैदानमा गरिने भएको छ । ‘नेपथ्य’ले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान आयोजना गरेको थियो । राजधानीमा आएर सम्पन्न भएको त्यो अभियानमा संभवत पहिलोपटक ‘नेपथ्य’ले सबैभन्दा ठूलो दर्शक श्रोताको उपस्थिती पाउन सफल भयो । त्यसको लगत्तै उक्त ब्याण्डको उद्गमस्थल पोखरामा यो आयोजना हुनलागेको हो । पोखरामा ‘नेपथ्य’ले पहिलोपटक खुला आकाश मुनि कन्सर्ट गर्नलागेको जानकारी यस अगावै सार्वजनिक भइसकेको छ ।

कमेन्टहरु
Loading...