‘फ्लास मुब’ शैलीमा पोखरामा सार्वजनिक भयो बुलबुलको गीत

पोखरा, १५ कात्तिक/ चलचित्र बुलबुल युनिटले ‘खुद्राखाद्री’ बोलको गीत बिहीबार सार्वजनिक गरेको छ । ‘फ्लास मुब’ शैली अपनाएर युनिटले पोखरा सहित देशका विभिन्न ठाँउहरुमा गीतलाई सार्वजनिक गरेको हो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा पनि सोहि शैलीमा गीतको सार्वजनिक गरियो । गीतमा एस.के.डान्स स्कुलका ३० जना कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एक्कासी बजेको गीतमा उनिहरुले नृत्य प्रस्तुत गर्दा दर्शक अचम्मित परे ।

पोखरेली माग्ने बुढा युवराज भण्डारी र धुर्मुस राजेन्द्र नेपालीले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई हँसाए । टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चर्चामा रहेको चलचित्र बुलबुलको गीत सार्वजनिक कार्यक्रम नेपालका पाँच सहरमा एकसाथ विशेष कार्यक्रमका बिच भएको चलचित्र निर्माता अबिरल थापाले जानकारी गराए ।

पोखरा सँगसँगै काठमाडौको काठमाडौं मल अगाडि, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा बिहिबार दिनको ४ बजे एकै समयमा ‘फ्लास मुब’ शैलीमा सार्वजनिक गरिएको उनको भनाई थियो ।

चलचित्रको गीतमा छरिएर बसेका डान्सरले अचानक नाचेको दृष्य हेर्न लायक थियो । सामान्य तरिकाले यात्रा गरिरहेकाहरु अचानक के भयो भनेर अचम्मित परेका थिए । निर्माण पक्षले यो शैली संभवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमा नौलो भएको र यसको प्रयोगको चर्चाको विषय हुने विश्वास लिएको छ । बजारमा नाचे सँगै युटयुव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक गरिएको छ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित छाँयाकन गरिएको गीतको कोरियोग्राफी विराज गहतराजले गरेका हुन । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

चलचित्रका निर्माता अविरल थापाले गीत छायाँकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दावी गरे ।

चलचित्रमा स्वस्तिमा खडकाका

अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् । चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज डेट सार्वजनिक गरिसकेको छ । त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भईसक्नेछ ।

कमेन्टहरु
Loading...