नेपाल आइडलको पोखरा अडिसन हुँदै

पोखरा २५ माघ /अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले गर्न लागेको सर्वाधिक पुरस्कार राशिको गायन प्रतियोगिता ‘नेपाल आइडल’को माघ २९ र फागुन १ गते पोखरामा अडिसन हुने भएको छ ।
गैह्रापाटनको नवीन उच्चमावि परिसरमा दुई दिन प्राथमिक चरणको छनोट हुने र त्यसपछि दोस्रो चरण गरी केन्द्रीय प्रतिस्पर्धाका लागि चयन गरिने आयोजकले जनाएको छ । पोखरा अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने छ ।
उक्त प्रतियोगितामा भाग लिन चाहनेले म्युजिक मेनिया चिप्लेढुंगा, संसार डिजिटल कलर ल्याब पृथ्वीचोक, माउन्ट कैलाश रिसोर्ट लेकसाइड, एलपी ट्रेडर्स बुढीबजार लेखनाथबाट फर्म प्राप्त गर्न सक्ने जानकारी उक्त टेलिभिजनका पोखरा ब्युरो प्रमुख सुमन ढुंगानाले दिए ।
‘तनहँु, स्याङ्जा, लमजुङ, गोर्खा, बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट पनि फर्म प्राप्त गर्न सकिन्छ,’ उनले भने, देशव्यापी अडिसन सम्पन्न भइसकेपछि चाँडै नै नियमित प्रसारण आरम्भ हुने ‘एपी १’ टेलिभिजन नेपाल आइडल प्रतियोगिता देखाउनेछ ।’
प्रतियोगिताको विजेताले महिन्द्रा केयुभी वान ओओ कार, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।
नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । आइडलको अडिसन नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्जमा सम्पन्न भइसकेको छ ।
कमेन्टहरु
Loading...