पोखरेलीको बीचमा ‘नेपाल आइडल’

नेपाल आइडल भएपछि पहिलोपटक गृहनगरमा विजेता बुद्ध लामाको प्रस्तुती भएको छ । यो शनिबार साँझ ४ बजेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा भएको ‘लाइभ कन्सर्ट’मा उनको प्रस्तुती धमाकेदार रह्यो ।

‘मलाई पोखराले धेरै माया गरेर यहाँसम्म ल्याईपु¥याएको हो । र, तीनै पोखरेली दाजुभाइको बीचमा आज म कन्सर्ट लिएर आउन पाउँदा निकै खुशी पनि छु ।’ नेपाल आइडल बुद्ध लामा अझै आशाबादी देखिए–‘मेरो यो साँगीतिक शुरुवात मात्र हो । आगामी दिनमा पनि पोखरेलीबाट यस्तै सहयोगको अपेक्षा गरेको छु ।’

‘म बिना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गीत गाएर उनले कन्सर्टको शुरुवात गरेका थिए । मुन्टेज इन्टरनेशनल र जक्शन डटकमको आयोजनामा भएको लाइभ कन्सर्टमा बुद्धलाई हेर्न थुप्रै पोखरेली दर्शकको भीड प्रदर्शनीकेन्द्रमा जम्मा भएको थियो । बुद्धले कन्सर्ट अवधीभर करिब आधा दर्जन गीतहरु गाए । उनले प्रत्येक गीत गाउँदै गर्दा पोखरेलीलाई धन्यबाद भन्न छुटाएनन् ।

नेपाल आइडल बुद्ध लामासँगै कन्सर्टमा फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशीले पनि पोखरेली दर्शकलाई भरपुर मनोरञ्जन गराए । खासगरि युवतीहरुको भीडले प्रताप दासलाई अझै बढि रुचाएको देखिन्थ्यो । त्यस्तै निशान भट्टराईले ‘आफ्नै गाऊँ फर्कि आएँ’ बोलको गीत गाउँदा त झन् दर्शकदीर्घाबाट ‘वान्स मोर’को चर्को हुटिङ आयो । सन्ध्या जोशीले पनि दर्शकलाई नचाउन कुनै कसर बाँकी राखिनन् ।

नेपाल आइडलको ग्राण्ड फिनालेपछि देशभित्र भएको लाइभ कन्सर्ट पोखरामा पहिलोपटक हो । कन्सर्टलाई सुशिल नेपाल र निशा पन्थिले होस्ट गरेका थिए । ४ बजे शुरु भएको कन्सर्ट साँझ ८ बजे सकिएको थियो ।

कन्सर्ट सोँचेअनुरुपकै भएको आयोजक मुन्टेज इन्टरनेशनलले प्रतिक्रिया दिएको छ । त्यस्तै जक्शन डटकम पनि कन्सर्टलाई लिएर आफुहरु सन्तुष्ट रहेको जनाएको छ । पोखरापछि मुन्टेज इन्टरनेशनलले पुर्वको उर्लाबारीमा कन्सर्ट आयोजना गर्दैछ । साथै यहि कम्पनीले नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्दैछ ।

कमेन्टहरु
Loading...