नेपाल आइडलको पोखरा अडिसनको तयारी पुरा, शुक्रबार जनप्रिय माविमा

सागर राज तिमिल्सिना
पोखरा, १३ वैशाख/अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले सञ्चालन गरेको नेपाल आइडलको सिजन टु को पोखरा अडिसनको तयारी पुरा भएको छ । पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा पहिलो चरणको छनौट वैशाख १४ गते शुक्रबार हुने छ । नेपाल आइडलको अडिसन भैरहवा, धनगढी, बीरगंज हेटौडा र धरानमा सम्पन्न भइसकेको बिहीबार पोखरामा आयोजन गरेको पत्रकार सम्मेलनमा नेपाल आइडलका प्रोजेक्ट हेड तथा डाईरेक्टर सुरेश पौडेलले जानकारी दिए ।

पोखरा अडिसनका लागि जनप्रिय माविमा बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म हुने उनले बताए । प्रतियोगितामा भाग लिन चाहनेले अन्नपुर्ण पोष्टमा छापिएको फर्म भरेर ल्याउनु पर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनुन पर्ने उनले बताए । पोखरामा हुने अडिसनमा तनहँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भागलिन आउने उनले बताए ।

उनले अघिल्लो नेपाल आइडलमा भएका कमिकम्जोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । पहिलो संस्करणको भन्दा वाइल्ड् कार्ड, गोल्डेन माईक र अन्तिम सम्म निर्णायकलाई ५० प्रतिशत निर्णयको अधिकार थपिएको उनको भनाई छ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले अघिल्लो वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्ष्भित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखराका हुन् ।

कमेन्टहरु
Loading...