राष्ट्रिय नाटक महोत्सव जारी, सोमबार तीन नाटक मञ्चन हुने

पोखरा, ११ चैत्र/पोखरामा चैत्र ८ गतेबाट आयोजित राष्ट्रिय नाटक महोत्सव जारी रहेको छ । पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा आयोजित महोत्सवमा चैत्र १२ गते सोमबार तीनवटा नाटक मञ्चन हुनेछन् । जस अनुसार दिउँसो १ बजे नेशनल आर्ट स्कुल पोखराको प्रस्ुततीमा सान्नानीको सन्ते राजा मञ्चन हुनेछ । महिला निर्देशकको रुपमा ममता मञ्जुलले डेब्यु गरेको यो नाटकको लेखक कृष्ण उदासी हुन् ।

नाटकमा नगेनसिँह ठकुरी, ममता मञ्जुल, रोशनी श्रेष्ठ, प्रेम अर्याल, सरोज पौडेल, सन्ध्या अधिकारी, विज्ञान गौतम, विष्णुराज तिमिल्सिना, प्रवेश श्रेष्ठ कोसाथमा लेखक उदासी समेतको अभिनय हेर्न पाइनेछ । दिउँसो ३ बजे युथ क्रियशन थिएटर पोखराको प्रस्तुतीमा भर्जिन कथा दर्शकले हेर्न पाउनेछन् । सौगात पोखरेलले निर्देशन गरेको यो नाटक रामलाल जोशीको ऐना पुस्तकबाट लिइएको हो । यसको नाट्य रुपान्तरण भरत छत्यालले गरेका छन् ।

नाटकमा कपिल शर्मा, शर्मिला बस्नेत, केदार पौडेल, सरला लामिछाने, स्मृति पोखरेल, प्रसुन अधिकारी, प्राञ्जल, मनिष पुरी, महेश बस्ताकोटीको अभिनय हेर्न पाइन्छ । यस अघि गत फागुनमा यो नाटक पोखरामा मञ्चन भएको थियो ।

यसैगरी साँझ ५ बजे राष्ट्रिय नाचघर काठमाण्डौको प्रस्ुततीमा एक चिहान दर्शकमाझ देखाइनेछ । हृदयचन्द्र सिँह प्रधानले लेखेको नाटकको निर्देशन विरेन्द्र हमालले गर्नेछन् । नाटकमा रमेश केसी, अञ्जु रन्जितकार, राजेन्द्र गड्तौला, लोकेन्द्र लेखक, गोरन चौधरी, सुशिला थापा, विपिन घिमिरे, रोहित सुवेदी, सवनम सिलवाल, अञ्जु आले, ब्रम्हचारी त्रोकछाकी, रामभजन कामत, भरत लाखे लगायतको अभिनय रहनेछ ।

यसअघि आमन्त्रित नाटकको रुपमा चैत्र ८ र ९ गते एक्टर्स स्टुडियोको प्रस्तुतीमा अनुप बरालले निर्देशन गरेको नाटक थाङ्गला, १० र ११ गते मण्डला थिएटरको प्रस्तुतीमा राजन खतीवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मञ्चन गरियो । दुवै नाटकले नाटक हेर्न थिएटर पुगेका दर्शकको ध्यान खिच्न सफल बने ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सव चैत्र १४ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न ठाउँका कुल १० नाटक मञ्चन गरिने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए । नाटक महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए ।

महोत्सवमा १३ गते दिउँसो १ बजे हिमाली साँस्कृतिक परिवार पोखराको प्रस्ुततीमा नारी शिक्षा, दिउँसो ३ बजे सद्भाव थिएटर काठमाण्डौको प्रस्ुततीमा चाँदिको घेरा, साँझ ५ बजे मञ्जरी नाट्य समुहको लमजुङको प्रस्ुततीमा पानिघट्ट र १४ गते दिउँसो १ बजे ओथेलो नाटक समुह पोखराको प्रस्तुतीमा जयगान, साँझ ५ बजे लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्ुततीमा सखि नाटक मञ्चन हुनेछ । महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समिक्षा समेत हुनेछ ।

कमेन्टहरु
Loading...