पोखरामा ‘अटलबहादुरको आतंक’ मञ्चन जारी, शनिबार नाटकको तीन सो देखाइयो

पोखरा १२ साउन /पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘अटलबहादुरको आतंक’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा रहेको यो नाटक शनिबार तीन सो देखाइयो । शनिबार बिहान साढे ८ बजे, दिउँसो १ बजे र साँझ ५ बजे गरी तीनवटै सो मा नाटक हेर्न पुग्ने दर्शकको भीड थियो । नाटक हेरी सकेपछि उनीहरुले नाटकघरमा बसेर नाटक हेर्नुको मज्जा नै बेग्लै हुने अनुभव सुनाए । यसअघि शुक्रबार समेत दुई सो मार्फत नाटक देखाइएको थियो । साउन ७ गतेबाट मञ्चन शुरु भएको नाटक साउन १६ गते सम्म हेर्न पाइनेछ । नियमित सो हरेक साँझ ५ बजे हुनेछ । दर्शकको आग्रहमा बुकिङ सो मार्फत समेत नाटक मञ्चन भइरहेको छ ।

नाटक मञ्चन जारी

खगेन्द्र लामिछानेको लेखन निर्देशनमा मञ्चन भएको नाटकले दर्शकलाई मनोरञ्जन दिलाई रहेको छ । नाटकका विषयवस्तु, डाइलग, कलाकारको अभिनयले गर्दा यसअघि गन्धर्व नाटकघरमा मञ्चन भएका नाटक भन्दा दर्शकलाई मनोरञ्जन प्रदान गर्न यो नाटक सफल बनेको छ । यो खगेन्द्रको निर्देशनमा मञ्चन भएको पाँचौ नाटक हो । उनी नेपाली चलचित्रका कुशल लेखक,तथा अभिनेता समेत हुन् । पशुपती प्रसाद, डमरुको डण्डिवियो, टलकजंग भर्सेस टुल्के, बधशाला लगायतका चलचित्रले उनलाई चिनाएको थियो ।

डेढ घण्टा लामो नाटकमा माओत्से गुरुङ अटलबहादुरको भुमिकामा देखिएका छन् । साथै मुखियाको भुमिका पनि उनैले निभाएका छन् । प्रकाश घिमिरे सोमरस भण्डारको सञ्चालक गुमानसिँहको भुमिकामा देखिएका छन् । प्रमिला तुलाचन जौमायाको भुमिकामा देखिएकी छन् । दिलप्रसाद गुरुङले बलवीर, गोविन्द रमण पराजुलीले रामवीर, वर्षाकेशव पराजुलीले छत्रवीर, विभु भुषालले धर्मविरको भुमिका निभाएका छन् ।

प्रमिला १५ वर्ष पछि, गोविन्द्र रमण १७ वर्ष पछि, वर्षा केशव २० वर्ष, विभु २० वर्षपछि रंगमञ्चमा फर्किएका हुन् । उनीहरुको कमव्याकले नाटकलाई आर्कषक बनाइदिएको छ । माओत्से र प्रकाशले पोखरा थिएटरको पहिलो प्रस्ुततीको नाटक सिरुमारानीमा अभिनय गरेका थिए । दिल प्रसादले भने पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएका तीनवटै नाटकमा लगातार अभिनय गरेका हुन् । यसैगरी बबिता मल्ल ठकुरीले मैना बनेकी छन् । विश्वराज पौडेलले सुरक्षाकर्मीको भुमिका निभाएका छन् । अञ्जु दाहाल, सुर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धिरेन्द्र पुन, प्रतिक घिमिरेले मुखियाको सहयोगी, गाउले तथा सुरक्षाकर्मीको भुमिका निभाउदै नाटकलाई परिपक्क बनाउन सहयोग गरेका छन् ।

नाटक मञ्चन जारी

रमाइलो खालको यो नाटकले सन्देश पनि बोकेको छ । नेपाली समाज एवं राज्य र यहाँको राजनीतिको जीवन्त चित्रण नाटक मार्फत गर्न खाजिएको छ । विभिन्न प्रलोभनमा परी एक आपसमा नमिल्दा समाज एवं राष्ट्रको एकता भताभुङ हुने र यसको फाइदा बाहिरको व्यक्तिले लिने कुरालाई नाटक मार्फत देखाइएको छ । परिवर्तन कार्कीको संयोजनमा मञ्चन भएको यो नाटक हेर्नका लागि विद्यार्थीका लागि २ सय, सर्वसाधरणका लागि ३ सय र पाँच सय रुपैयाँको टिकट लाग्नेछ । गत फागुन २ गतेबाट सञ्चालनमा आएको गन्र्धव नाटकघरमा मञ्चन भएका नाटकको संख्या यो नाटक सहित १७ पुगेको छ ।

कमेन्टहरु
Loading...