नाटक ‘एक रुपैयाँ’ मञ्चन मंसिर तेस्रो साता, रिहर्सल सुरु

राजाराम पौडेल÷पोखरा/पोखरामा एकपछि अर्को गर्दै नाटक मञ्चनले तिव्रता पाउने भएको छ । गत भदौमा नाटक ‘मौसम हराएको देश’ मञ्चन गरेको पञ्चामृत नाट्य समुहले नाटक ‘एक रुपैयाँ’को मञ्चन गर्ने भएको हो । नाटक एक रुपैयाँको मञ्चन आगामी मंसिर १७ र १८ गते पोखरा उद्योग वाणीज्य संघको हलमा हुँदैछ ।

नाटक मञ्चनको लागि रिहर्सल सुरु भैसकेको छ । पोखरेली रंगमञ्चमा युवाहरुको आर्कषण बढ्दै गएकोले नाटकको मञ्चनले तिव्रता पाउन लागेको हो । यसले नाट्य क्षेत्रका दर्शक एवं शुभचिन्तकको नाटक हेर्ने तृष्णा मेटिएको मात्र नभई समग्र पोखरा नाटकमय बन्न थालेको छ । कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, विवश बाबु, ममता कार्कीको अभिनय रहने छ । साथमा यो नाटकमा नाटककार उदासी समेत देखिनेछन् ।

नाटकमा सह–निर्देशन विष्णु प्रसाद गौतम, संयोजन परिवर्तन, प्रबन्धक उज्वल रेग्मी, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषी, भेषभुषा र श्रृंगार दिपकमान उदास, कोरीयोग्राफिको जिम्मा निलम तामाङले पाएकी छन् । नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिइने नाटककार उदासीले जनाए । ‘बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ’ उनले भने । गाँउबाट शहर झरेका ४ जना युवति कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरिदैछ ।

आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन हो एक रुपैयाँ । शहरमा दैनिक रुपमा घट्ने यस्ता घटनालाई टपक्क टिपेर नाटकमा ढाल्दै समाजलाई सचेतना प्रदान गर्ने जमर्को उदासीले यो नाटक मार्फत गर्दैछन् । उनको यो १ सय ५ औ नाटक हो । यस अगाडी उनले १ सय ४ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् ।

पञ्चामृत नाट्य समुहको तेस्रो प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिन लागेको संयोजक परिवर्तनले जनाए । समुहको पहिलो प्रयासमा गत बैशाखमो पुलिस र प्यास नाटक मञ्चन गरिएको थियो । पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । यो समुहले सडक नाटक समेत देखाउने योजना बनाएको छ ।

कमेन्टहरु
Loading...