बैशाख ७ गते पोखरामा ‘म्ले क्यु’

पोखरा, १८ चैत । ‘म्ले क्यु’, अर्थात बिर्साउने पानी । गुरुङ सँस्कार अनुसार यो पितृहरुलाई चढाईने पानी हो । गुरुङ सँस्कार अनुसार मान्छे मरेपछि अर्कै लोकमा जान्छ । र, मरिसकेको मान्छेको लागि पृथ्वीलोकमा कुनै बास हुँदैन ।

यद्यपी गुरुङ सँस्कारले यो मान्छ कि, पितृहरु अर्को लोकमा जान खोज्दैनन् । पृथ्वीलोकको माया र मोह मान्छे मरिसकेपछि पनि रहिरहन्छ । त्यही पृथ्वीलोकको माया मरेपछि पनि रहने र त्यसलाई बिर्सेपछि मात्रै उनीहरु अर्को लोकमा जाने मान्यता गुरुङहरुले राख्छन् ।

गुरुङ सँस्कारको यही मान्यतालाई आधार बनाएर फिल्म निर्माण भएको छ । लामो समय अभिनेत्रीको रुपमा गुरुङ फिल्म उद्योगमा बिताएकी जसु गुरुङले यही सँस्कारमा आधारित फिल्म बनाएकी हुन् । ‘म्ले क्यु’ नाम दिएर निर्माण भएको फिल्म आगामी बैशाख ७ गते पोखरामा प्रदर्शन हुदैछ ।

फिल्म युनिटले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर फिल्मको बारेमा जानकारी दिएको हो । ‘यो एउटा गज्जब र फरक शैलीको फिल्म बनेको छ । गुरुङ समुदायको यस्तो सँस्कारमाथि बनेको फिल्म सबैका लागि रोचक हुन सक्छ ।’ पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक जसु गुरुङले भनिन्–‘गुरुङ समुदायकै लागि भने यो ऐतिहासिक र साँस्कृतिक दस्तावेज बन्न सक्छ ।’

यो फिल्म यसअघि हङकङमा प्रदर्शन भैसकेको छ । त्यहाँबाट पाएको प्रतिक्रियाले फिल्म निर्माण यूनिट दंग छ । नेपालको प्रदर्शनको तयारी गरिरको निर्माण यूनिटले पोखराभन्दा अगाडि यो फिल्मलाई नवलपरासीमा प्रदर्शन गर्ने बताएको छ । स्टार्स स्टुडियोको प्रस्तुतीमा बनेको यो फिल्ममा माओत्से गुरुङ, डिबी गुरुङ, रिया गुरुङ, कमल गुरुङ, वीरमाया गुरुङ, गजेन्द्र गुरुङ, सुनील गुरुङ, कृष्टि गुरुङ, एनसर्ज गुरुङ लगाएतको अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा फिल्मका मूख्य अभिनेता माओत्से गुरुङले ‘म्ले क्यु’ सम्झनलायक फिल्म बनेको बताए । ‘यो एउटा फरक शैलीको फिल्मको हिस्सा हुन पाउँदा निकै खुशी लागेको छ ।’ उनले भने–‘दर्शकहरुले हेरेर प्रतिक्रिया दिनुहोला ।’

यो फिल्मलाई रोशन गुरुङले लेखेका हुन् । लेखक रोशन गुरुङले गुरुङ सँस्कार भित्र रहेको बिर्साउने पानीको किस्सा यसअघि उनको कथासंग्रहमा समेटेका थिए । पछि यो कथामा अडियो नाटक पनि बन्यो । र, अन्ततः यसले फिल्मको रुप लिएको हो ।

यो फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । सन्तोष कोन्मे यसका सम्पादक हुन् । फिल्ममा धनबहादुर गुरुङ र नरजंग गुरुङले संगीत दिएका छन् । फिल्म युनिटले यो फिल्मको एउटा गीतको कभर भिडियो प्रतियोगिता पनि गरेको छ ।पत्रकार सम्मेलनमा स्टार्स स्टुडियो प्रालिको तर्फबाट फिल्मका कलाकार र प्राविधिकहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...