मिस तामाङ पोखराको तालिममा सेलिब्रिटी

पोखरा, १२ पुस/ बैदाम तामाङ समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ । ४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

अहिले सम्म नेपाली चलचित्रका महानायक राजेश हमाल, टेलिभिजन कर्मी सन्दिप क्षेत्री तथा जिपी तिमिल्सिना, र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सञ्चारकर्मी रविन गुरुङलगायतले तालिम प्रदान गरिसकेका छन् ।

तालिममा महानायक हमालले सफलताका सुत्रका विषयमा आफ्ना धारणा राखेका थिए । उनले हरेक व्यक्तिमा अन्र्तनिहित क्षमता हुने हुँदा त्यसको सहि सदुपयोगले मात्रै सफलता हासिल गर्न सकिने बताए । हमालले व्यक्तिको तुलना कुनै अर्को व्यक्तिसंग हुन नसक्ने बताउदै सबै सक्षम हुने भन्दै आफुले आफुलाई चिन्न सक्नुपर्नेमा जोड दिए ।

हास्यकलाकार सन्दिप क्षेत्रीले आफुमा भएको डरलाई जितेर आत्मविश्वासका साथ अगाडी बढ्नुपर्ने बताए । सहजकर्ता उपेन्द्र पौडेलले कम्युनिकेसन स्किलका बारेमा बोल्दै आफ्ना कुरा निर्धक्क राख्न सक्नेले मात्रै अरुका कुरालाई पनि ग्रहण गर्न सक्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र टेलिभिजनकर्मी जिपी तिमिल्सिनाले उदघोषण कलाका विषयमा सहजीकरण गरेका थिए ।

तालिमका दौरान सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी हासिल गर्ने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएका आयोजकको भनाइ छ ।

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । यस वर्ष समाजले मिस तामाङ पोखराको चौथो संस्करण आगामी माघ १२ गते गर्दैछ । प्रतियोगिताको फाइनलमा पहिलो नेपाल आईडल बुद्ध लामाले बिशेष प्रस्तुति दिनेछन् ।

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सुमी तामाङ, विरौटाका कञ्चन तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमेना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् ।

भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन् । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भईन् । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने छ ।

कमेन्टहरु
Loading...