मिस तामाङ्ग पोखराको तालिम शुरु

पोखरा, ११ मंसिर/ २८५४ औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ्ग पोखरा आयोजना गर्ने भएको छ । मिस तामाङ्ग प्रतियोगिता माघ ४ गते पोखरा सभागृहमा गरिने आयोजक बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । पोहोर भन्दा यस वर्षको प्रतियोगिता फरक हुने तामाङ्गले बताए । यस पटक हामीले देशभर बाट प्रतियोगीहरुलाई लिएका छौं, उनले भने । प्रतियोगिताका लागि पोखरा, काठमाण्डौं तथा देशका अन्य भागबाट तामाङ्ग समुदायका १८ जना युवतीहरुको सहभागिता रहनेछ ।

समुदायमा रहेका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति आकर्षण बढाउन तथा जातिय संस्कार संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा आयोजना गरिएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए । प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन हेतु गर्न लागिएको हो, उनले भने ।

प्रतियोगीहरुलाई डेढ महिना लामो तामाङ्ग भाषा संस्कार र संस्कृति तथा ब्यक्तित्व बिकास सम्बन्धी तालिम छ । बिजी बि क्याफे लेकसाइडमा तालिम शुरु भएको प्रतियोगिता संयोजक मोक्तानले बताए ।माघ ४ गते पोखरा सभागृहमा हुने कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने कार्यक्रम रहेको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगिता संगै बिभिन्न राष्ट्रिय ख्याती प्राप्त कलाकारका प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य आकर्षण रहेका छन् ।

कमेन्टहरु
Loading...