मिस नेवाको ताज प्रिती बुद्धाचार्यलाई

पोखरा, १७ चैत/नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिश्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको बिभिन्न गिफ्ट ह्यामपर हाज पारिनन् ।

शुक्रबार भएको ग्रान्ड फिनालेमा प्रितीले बेस्ट ट्यालेन्ट र बेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन् । मिस नेवा प्रिती नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता गरिन् । ताज जितेको खुसी साट्दै उनले त्यसको श्रेय आफ्ना बुवाआमालाई दिइन् ।
फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने । प्रियङ्काले २५ हजार र जेनिफरले १५ हजारसहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् । प्रतियोगितामा बेस्ट पर्सनालिटी रोजिना ताम्राकार, बेस्ट फ्रेन्डली सन्ध्या श्रेष्ठ, बेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते । उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार दिइयो ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए । अब नेपाल समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘समृद्धिको यात्रामा मिस नेवाका प्रतिश्पर्धीले समेत योगदान गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’

नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा विजेता १ मात्र बन्ने भए पनि व्यक्तित्व विकास र यसबाट फाइदा सबैले लिन सक्ने बताए । उनले नेवारी युवतीहरुमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ छ । उनले भने, ‘यो सुन्दरी प्रतियोगिता होइन, हाम्रा नानीहरुलाई सक्षम बनाउने मञ्च हो ।’

मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । प्रतियोगिताका निर्णायकहरुमा डा. इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रात्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र सम्शेरबहादुर नुछे प्रधान थिए । कार्यक्रम सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...