चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठ अन्तिम साता

पोखरा २६, वैशाख/राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठ २८ गते काठमाण्डौमा हुने भएको छ ।

चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठ अन्तिम साता
चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठ अन्तिम साता

पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा विभिन्न २२ वटा विधामा अवार्ड वितरण हुने भएको हो । अवार्ड कार्यक्रममा विगतका कमिकमजोरीलाई दोहोरीन नदिने आयोजकको भनाइ रहेको छ । वास्तविक प्रतिभालाई अवार्ड वितरण गर्नका लागि सम्बन्धित विधामा पोख्त व्यक्तिलाई निर्णय गर्ने जिम्मा दिइने र यस्तो निर्णय गोप्य रहने बताइएको छ ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका प्रमुख संरक्षक प्रजापती पराजुली, निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, कार्यक्रम संयोजक एवं राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, प्रतिष्ठान गण्डकीका उपाध्यक्ष शंकर विरही गुरुङ, महासचिव घनश्याम रिजाल लगायतले बोलेका थिए ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा भएको पत्रकार सम्मेलनको व्यवस्थापन राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीले गरेको थियो । उपत्यका समन्वय समिति वि.स.२०६२ असौज ११ गते स्थापना भएको हो । समितिको आयोजनामा तीनवटा अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

कमेन्टहरु
Loading...