ड्रिम टिमद्वारा कोरियामा कला प्रदर्शनन र साँस्कृतिक कार्यक्रम प्रस्तुत

पोखरा, ८ कात्र्तिक /पोखरादेखि उत्तर पश्चिम अन्नपूर्ण गाउँपालिकास्थित बीरेठाँटी माध्यमिक विद्यालयको ड्रिम टिमले दक्षिण कोरियाको सिओलमा रहेको लमेर आर्ट ग्यालरीमा चित्रकला प्रदर्शन र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि नेपाल फिर्किएको छ ।

नेपालको शिक्षा, स्वास्थ्य र कला संस्कृतिका क्षेत्रमा काम गर्दै आएको दक्षिण कोरियाली संस्था उम हङ्गिल ह्युमन फाउण्डेसनले बीरेठाँटी माध्यमिक विद्यालयको ड्रिम टिमलाई शैक्षिक भ्रमण, कला प्रदर्शनी र साँस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि निमन्त्रणा गरेको थियो । नेपाली विद्यार्थीको कला प्रदर्शनी र प्रस्तुतिलाई कोरियाली सञ्चार माध्यमले प्रत्यक्ष प्र्रसारण गरेका थिए ।

अन्नपूर्ण हिमालको फेदीदेखि समुद्रको किनारसम्मको यात्रामा बीरेठाँटीका विद्यार्थीहरू कला र साँस्कृतिक कार्यक्रम सहित पुग्दा हिमाल आरोही उम हङ्गिल अत्यन्तै खुशी भएको बताए सहभागी विद्यार्थी विशाल चपाईले । उनको डायरीमा अटोग्राफ दिंदै उम हङ्गिलले लेखेका छन् “जीवनलाई चुनौती देउ अनि गन्तव्यमा पुग्न सकिन्छ ।” विश्व कीर्तिमानी उम हङ्गिललाई कोरियामा भेट्दा र उनकै चित्र देखाउन पाउँदा हामी पनि खुशी थियौं चपाईले थपे ।

कोरियाली नागरिक उम हङ्गिलले विश्वका ८ हजार मिटर अग्ला १६ वटा हिमाल आरोहण गरिसकेका छन् । हङ्गिलले नेपालका ८ वटा हिमाल आरोहण गरी तिनै हिमवेशीमा शिखर चढेको संस्मरणका लागि १२ वटा स्कुल पनि बनाएका छन् । त्यसै अन्तर्गतको बीरेठाँटी स्कुलमा उम हङ्गिल ह्युमन फाउण्डेसन मार्फत् क्यु खिउन किमले कला शिक्षकका रूपमा स्वयम् सेवकको भूमिका निर्वाह गरेका छन् ।

कास्कीको बीरेठाँटी स्कुलबाट कोरियाको सिओलमा कला र साँस्कृतिक कार्यक्रमका लागि ड्रिम टिमका संयोजक किम सरसँग एलिसा तामाङ, सिर्जना राई, मोनिका तामाङ, आइत सुवा वि.क., सविता परियार, विशाल चपाई नविन परियार, प्रदीप आचार्य, ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सुनचुरी कला प्रदर्शनी र साँस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि गएका थिए ।

नेपाली विद्यार्थीले कला संस्कृति, नेपाली भेषभूषा, लोकबाजाका अतिरिक्त डोकोनाम्लो, दुनाटपरी, राडीपाखी, लगायतका सामाग्री पनि प्रदर्शनीमा राखेका थिए भने कोरियाको विभिन्न कला संग्रालय, उद्योग, पर्यटकीय स्थलको अवलोक गरेका थिए ।

भ्रमणबाट फर्केपछि सहभागी विद्यार्थी सविता परियारले “अनुशासन, सहकार्य, एकता र मिहिनेत नै सफलताको सूत्र रहेछ भन्ने कुरा ” कोरियाबाट सिकेको बताइन । कला शिक्षक किमले “वर्षेनी यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै कला संस्कृतिको आदन प्रदान गर्ने र विद्यार्थीको क्षमतामा पनि निखार ल्याउने बताए । कला प्रदर्शनी गरेको लमेर आर्ट ग्यालरीमा कोरियन दृष्टिविहिन समूहको प्रस्तुति रहेको थियो, “हामीले पनि कोरियन गीत गाएर साथ दियौं, हाम्रो कला, लोकबाजा र नृत्यलाई कोरियनहरुले मन पराए” सहमागी अलिशा तामाङले बताइन् ।

संगीत प्रशिक्षक धनबहादुर गायकले ड्रिम टिमका विद्यार्थीहरूलाई मादल, सारङ्गी र बाँसुरीमा नेपाली लोक धुन बजाउन र नृत्य गर्न सिकाएका थिए । आफैले बनाएका चित्रकला, नेपाली भेषभूषा, नेपाली बाजा, धुन र नृत्य सहित विद्यार्थीहरू नेपालबाट कोरिया जाने पहिलो समूह हुन् ।

१२ जना विद्यार्थीलाई चित्रकला सिकाउँदै आएका कोरियाली नागरिक क्यु खिउन किमले स्कुलको सिफारिशमा ८ जना विद्यार्थीलाई सिउलको लमेर आर्ट ग्यालरीमा प्रस्तुत गरेका हुन् । यिनै विद्यार्थीले तयार गरेका १ सय २० वटा चित्र कलामा नेपालको प्रकृति र संस्कृतिलाई समेटिएको छ । किमले गत वर्ष बीरेठाँटी स्कुलका हरेक विद्यार्थीका अभिभावकलाई “खसीले मसी हुन्छ” भन्दै १२ लाख बराबरको बाख्राका माउ वितरण गरेका थिए ।

फाउण्डेसनले “ड्रिम्स एण्ड होप फर दि चिल्डे«न अफ हिमालयज” परियोजना अन्तर्गत स्कुलहरू बनाएर शिक्षामा जोड दिदैं आएको छ । उम हंगिलले ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमानी कायम गरेपछि आफ्नै नामबाट सन् २००८ मा फाउण्डेन सञ्चालन गरी समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छन् । हंगिलले सन् १९९८ मा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

कमेन्टहरु
Loading...