काहुँखोलामा १ सय ५५ औं अक्षरयात्रा

पोखरा, १६ असार/पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १ सय ५५ औं शृंखला काहुँखोला पुगेको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको यो शृंखला जनकल्याण समिति काहुँखोलाको समन्वयमा भएको हो ।

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारासहित हुँदै आएको अक्षरयात्रामा झन्डै दुई दर्जन स्रष्टाले सिर्जना वाचन गरे । साहित्यिक पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै देशका विभिन्न ठाउँमा अक्षरयात्रा हँुदै आएको छ । अक्षरयात्रीले असारसँग सम्बन्धित कविता सुनाए । प्रेम र समसमायिक सिर्जनाले जनकल्याण समितिको सभाहल रोमाञ्चक बन्यो । यात्रीहरुले कवितामार्फत किसान र गाउँका सिर्जना सुनाए ।

बढ्दो जनसंख्या र पूर्वाधारले पोखरा अस्तव्यस्त भइसकेको भन्दै काहुँखोलालाई जोगाउन कविहरुले आह्वान गरे । अक्षरयात्राका परिकल्पनाकारमध्येका एक प्रकट पगेनी ‘शिव’ले जनकल्याण समितिले सामाजिक काम गर्दै आएको भन्दै काहुँखोलालाई बचाउन पनि नेतृत्व लिन आग्रह गरे । जनकल्याण समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार लोकबहादुर कार्कीले यसअघि पनि ३ पटकसम्म अक्षरयात्राका लागि सहकार्य गरिएको र आगामी दिनमा पनि अक्षरयात्रासँग हातेमालो गर्ने बताए ।

अक्षरयात्रामा रुपिन्द्र प्रभावी, कपिल शर्मा, हेमन्त हितैसी, सौगात पोखरेल, शंकर ज्ञवाली, प्राञ्जल, युवराज त्रिपाठी, सुदर्शन पौडेल, धर्मराज पौडेल, लक्ष्मी भट्टराई लगायतले सिर्जना वाचन गरे । सोही अक्षरयाकै अवसरमा संस्थाका सदस्य तथा पदाधिकारीका लागि लेख तथा रचना लेखन कक्षा पनि समितिले सञ्चालन गरेको छ । कवि प्रकट पगेनी र रुपिन्द्र प्रभावीले लेखन सम्बन्धी अनुभव र अनुभूति साटे । लेख रचना लेख्दा विषय केन्द्रितका विषयमा प्रभावी र पगेनीले अनुभव सुनाए ।

सन्ध्याका अध्यक्ष अमृत सुवेदीले साहित्य र पर्यटनलाई जोडेर जीवन र जगतलाई नजिकबाट बुझेर साहित्यको श्रीवृद्धि गर्ने काम अक्षरयात्राले गर्दै आएको बताए । अक्षरयात्रा एउटा साहित्यिक अभियान रहेको र यो निरन्तर चल्ने भनाइ राखे । नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले जनकल्याण समितिले निरन्तर सहकार्य गरेको र आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।

जनकल्याण समितिका अध्यक्ष देवराज बरालले २०४९ सालमा स्थापना भएको समितिले सामाजिक क्षेत्र निरन्तरण क्रियाशील हुँदै समाजको अगुवाई गरेको बताए । अक्षरयात्राकै मेसोमा लेख तथा रचना कक्षा पनि सञ्चालन गरेर संस्थाका सदस्य तथा पदाधिकारीको पनि लेखन अभिवृद्धिको प्रयास गरिएको उनको भनाइ थियो । समितिका युवा समिति संयोजक विनोद आचार्यले लेखन कक्षाले सिजर्नाकर्ममा अभिप्रेरित गरेको बताए । सन्ध्याका सचिव वसन्त विनोदले अक्षरयात्राको सहकार्यका लागि समितिलाई धन्यवाद दिए । समितिका महासचिव कुमार केसीले संस्थाले समाजका हरेक क्षेत्रमा आफ्नो क्रियाशिलता बढाउँदै लगेको बताए ।

कमेन्टहरु
Loading...