Ganthan News Pokhara
All news from Pokhara & around

गुरुङ लेखक/साहित्यकारलाई पुरस्कृत गर्न अक्षयकोष

0

पोखरा, २२ चैत/गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् । मञ्चको प्रथम स्थापना दिवसमा बुधबार आयोजित कार्यक्रममा उनले ‘गौरी तमु लेखन पुरस्कार’ कोष घोषणा गरेकी हुन् ।

गुरुङ लेखक एवं साहित्यकारलाई प्रोत्साहनसहित पुरस्कृत एवं सम्मानीत गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको उनले जानकारी दिइन् । गुरुङ साहित्यिक मञ्चले सञ्चालन गर्ने उक्त अक्षयकोषबाट प्रत्येक वर्ष ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र क्रेगीसहित गुरुङ सर्जक वा संस्थालाई पुरस्कृत गरिनेछ ।

गौरीले आफ्नो मुक्तक सञ्चयन ‘समै दर्वानी’ बिक्रीबाट संकलित रकमबाट अक्षयकोष स्थापना गरेकी हुन् । गत भदौमा प्रकाशन भएको दमै दर्बानी पुसमा दोस्रो संस्करण आएको छ । पुस्तक बिक्रीबाट आउने थप रकमसमेत अक्षयकोषमै थपिने उनले उल्लेख गरिन् ।

मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोने तमुले गौरीको प्रयासले गुरुङ लेखक/सात्यिकारमा ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनले नेपाली मुक्तकको अवस्था र मुक्तक लेखन कलाबारे समेत प्रकाश पारे । कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चीजकाजी गुरुङ, एनआरएन युकेका संरक्षक मेजर डम्बर घले, उपन्यासकार डा. चन्द्रबहादुर गुरुङ, तमु सञ्चारकर्मी संघ कास्की अध्यक्ष शान्ति गुरुङ र उपन्यारकार तीर्थ गुरुङले बोलेका थिए ।

मञ्चको स्थापना दिवस रचनावाचन, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरियो । कार्यक्रममा गुरुङ र नेपाली भाषाका २३ जनाले रचना सुनाए । सो अवसरमा फोटो पत्रकार मणि सरब्जा तमुलाई सम्मान गरिएको थियो । उनी संस्थाका अफिसियल फोटो पत्रकारसमेत हुन् ।

मञ्चका उपाध्यक्ष रोशन गुरुङले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गौरी तमु, सञ्चालन कार्यक्रम संयोजक तथा मञ्चका सचिव रोशनी गुरुङले गरेकी थिइन् । कार्यक्रममा साधारण सदस्य, सक्रिय सदस्य र आजीवन सदस्य गरी ३१ जनालाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु