‘गुरुङ फिल्म अवार्ड’को तयारी तिव्र

पोखरा, २९ माघ/फागुनको १४ र १५ गते दुईदिनसम्म चल्ने ‘प्रथम गुरुङ फिल्म अवार्ड’को तयारी तिव्र रुपमा भैरहेको आयोजक जक्शन डटकमले जनाएको छ । गुरुङ फिल्म एशोसियसन जिफान संरक्षक रहने गरि पोखराबाट संचालित ग्ल्यामर वेभसाईट जक्शन डटकमले ईतिहासमै पहिलोपटक गुरुङ फिल्म अवार्ड गर्न लागेको हो ।

२० वर्षे गुरुङ फिल्मको यात्रामा पहिलोपटक हुन लागेको अवार्ड कार्यक्रमलाई लिएर यतिबेला गुरुङ फिल्मकर्मीहरु निकै उत्साहित छन् । ‘पहिलोपटक हुन लागेको गुरुङ फिल्म अवार्डलाई लिएर यतिबेला फिल्मकर्मीमाझ निकै चर्चा परिचर्चा शुरु भैसकेको छ ।’ जिफानका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले भने–‘यो ऐतिहासिक कार्यक्रमप्रति सबैजना निकै सकारात्मक पनि छन् ।’

दुई कालखण्ड गरि ७० वटा शिर्षकमा बाँडिने अवार्ड कार्यक्रमलाई लिएर आयोजक पनि निकै हौसिएको छ । ‘गुरुङ फिल्मले गण्डक क्षेत्रमा रहेका बाक्लो गुरुङ जाति र उनीहरुको सँस्कारलाई चिनाउने काम गरेको छ ।’ जक्शन डटकमका प्रमुख कार्यकारी अधिकृत भुपालकुमार गुरुङले भने–‘त्यहि कुरामा काँधमा काँध थप्न हामीले उनीहरुको सम्मान स्वरुप यो अवार्ड कार्यक्रमको आयोजना गरेका हौँ ।’

व्यवस्थापकिय हिसाबले पनि अवार्ड कार्यक्रम विशेष हुने जक्शन डटकमका व्यवस्थापक अरुण गिरीले बताए । ‘पोखराले नै गर्व गर्ने खालको कार्यक्रम दुई दिनमा हामीले गर्नेछौँ ।’ गिरीले भने । अवार्डमा गुरुङ फिल्मका सेलिब्रिटिसँगै नेपाली फिल्मका सेलिब्रिटिहरुको पनि उपस्थिती रहनेछ । ४६ वटा फिल्मले सहभागिता जनाएको अवार्ड कार्यक्रम अन्तरगत निर्णायकहरुले सहभागी फिल्मलाई हेरिसकेका छन् । त्यस्तै चर्चित फिल्म, अभिनेता र अभिनेत्री विधाका लागि ‘भोटिङ कोड’ सार्वजनिक भैसकेको छ । चर्चित अवार्डका लागि २१ वटा फिल्म, १५ जना अभिनेता र ११ जना अभिनेत्री मनोनयनमा परेका छन् ।

पचासको दशकको शुरुवाततीर हो, गुरुङ फिल्महरु बन्न थालेको । प्रितम गुरुङको निर्देशनमा पातेँ भन्ने फिल्म बनेपछि नै गुरुङ सँस्कार तथा भाषामा फिल्महरु बन्न थालेको ईतिहास छ । यो बीचमा गुरुङ फिल्म निर्माणको क्रमले २० वर्ष लामो समय गुजारिसकेको छ । तत्कालिन समयमा निकै कम मात्रै फिल्म बन्थे । तर पछिल्लो क्रममा गुरुङ फिल्महरु बग्रेल्ती बन्न थालेका छन् ।

६० को दशकको बीचतीरबाट गुरुङ भाषा र सँस्कारका फिल्महरु बन्ने गति अझै बढ्यो । त्यसपछि गुरुङ फिल्मकर्मीहरु संगठित भए, ‘गुरुङ फिल्म एशोसियसन’ जिफानको नाममा । त्यसयता यो संस्थाले फिल्म निर्माण, प्रदर्शन र बजारिकरण सम्बन्धि केहि नियम बनाएर अगाडि बढिरहेको छ । गुरुङ फिल्म उद्योग नेपालकै दोस्रो ठुलो फिल्म उद्योग हो । भाषा तथा सँस्कारमा बन्ने फिल्महरुलाई लिएर कुरा गर्ने हो भने नेपालको सबैभन्दा ठुलो फिल्म उद्योग यहि हो ।

कमेन्टहरु
Loading...