ग्ल्यामर दुनियाँमा चमक गुमाए पछि सडकमा

एजेन्सी सहयोगमा/बलिउडमा मुम्बइ सपनाको शहर। यहाँ धेरैका सपनाले कोरेभन्दा बढी आकृति बनाएका छन्। तर, यहीँ नै कसैका सपनाहरू टुटेका छन्, फुटेका छन् र साविकको जीवन बर्वाद पनि भएका छन्। यस्तै सपना टुटेर सडकमा आएकी एक पात्र हुन् मिताली शर्मा। कुनै समय मितालीको रूप र अभिनयले पाएको चर्चा अहिले आएर उनको दुःखले भरिएको निरश कथाले प्रतिस्थापन गरिदिएको छ।

भोजपुरी फिल्ममा अभिनय र मोडलिङबाट ‘सेलेब्रेटी’ बन्न सफल मितालीको जीवन पनि एक फिल्मको कथा झैं भएको छ।भारतीय समाचार माध्यमहरूले उल्लेख गरेअनुसार मितालीले अभिनयलाई रोजेपछि उनको परिवारले उनलाई छाडिदिएको हो। तर, त्यही अभिनयले उनलाई साथ नदिएपछि उनी चोर र भिकारी बन्न पुगिन्। सन् २०१६ मा मुम्बइको ओसिवारा प्रहरीले उनलाई सडकमा भिख माग्ने र चोरी गर्दै गरेको अवस्थामा भेटेको थियो।

उनलाई ओसिवारामा एक कारको झ्याल फोड्ने प्रयास गर्दैगर्दा प्रहरीले भेटेको थियो। उनीमाथि दुई जना महिला प्रहरीमाथि दुर्व्यवहार गरेको पनि आरोप छ। महिला प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले एकलाई धक्का र अर्कीलाई हातपात गरेकी थिइन्।

अभिनयमा आफ्नो भविष्य कोर्न नसकेपछि मितालीलाई ‘डिप्रेसन’ भएको थियो। प्रहरीका अनुसार २६ वर्षीया मिताली मुम्बइमा एक्लै बस्थिन्। उनको अवस्थाबारे यकिन जानकारी दिने कोही छैन। उनको जीवनमा आर्थिक र मानसिक समस्या आइपरेपछि उनी सडकमा भौंतारिएकी थिइन्। प्रहरीका अनुसार उनी पक्राउ परेको समयमा दुई दिनदेखि भोकै रथिइन्। मिताली पक्राउ पर्नासाथ उनले खाना मागेकी थिइन्।

उनी मुम्बइ कहिले र कसरी आइन् भन्नेबारे हालसम्म कसैलाई सत्य जानकारी थाहा छैन। हाल उनलाई ठाणेको मानसिक अस्पतालमा राखिएको छ। अस्पताल भर्ना भएदेखि उनले आफ्नाबारे केही पनि नबताएको डाक्टरको भनाइ छ। उनको कोहीसँग भेटघाट पनि भएको छैन।

सन् २००७ मा पनि चिरपरिचित मोडल गीताञ्जली नगपाल यस्तै हालतमा फेला परेकी थिइन्। फेसनमा भविष्य खोज्दै गरेकी गीताञ्जलीको दर्दनाक कथाले फेसनको दुनियाँको अँध्यारो पाटो उजागर गरेको थियो। आफ्नो करियरमा धरमर हुन थालेपछि गीताञ्जली लागूऔषध र मदिराको सहारा लिन थालेकी थिइन्। उनी विवाहित थिइन् र उनको एक बच्चा पनि थियो। अस्पतालले उनको मानसिक सन्तुलन ठीक नभएको पुष्टि गरेको थियो।

प्रियंका चोपडा र कंगना रनावतको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘फेसन’ मा कंगनाको भूमिका गीताञ्जलीकै कथाबाट प्रेरित भएको कंगनाले बताएकी थिइन्।

कमेन्टहरु
Loading...