मुस्ताङमा गगनको दिल रेलिनले चोरिन् (भिडियोसहित)

पोखरा, ७ जेठ /पहिलो बिग आइकन गगन पुनको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । आउँदै गरेको नयाँ एल्बममा समावेश गीत ‘तिम्रो दिल मेरो लागि’को भिडियो ‘संग्स्नेपाल’ले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

यो भिडियोमा गगन आफै फिचर छन् । उनलाई मोडल रेलिन पुनले भिडियोमा साथ दिएकी छन् । मुस्ताङको रमणीय दृश्यहरुमा कैद गरिएको भिडियोलाई धेरैले रुचाएका छन् । भिडियो सार्वजनिक भएसँगै धेरैले उत्कृष्ट प्रतिक्रियाहरु दिएको गायक गगनले जानकारी दिए ।

‘निकै मेहेनत गरेर हामीले यो भिडियो निर्माण गरेका हौँ । र, हाम्रो मेहेनत यसमा देखिएको छ ।’ पुनले भने–‘दर्शकले रुचाएपछि हामी झन् हौसिएका छौँ ।’ ६ जनाको टिमले मुस्ताङसम्म पुगेर भिडियो निर्माण गरेको गगनले सम्झिए ।भिडियोलाई मेजान पुनले निर्देशन गरेका हुन् । लालबहादुर पुनको छायाँकन तथा सम्पादन रहेको भिडियोको गीतलाई बालदिप पुनले लेखेका हुन् । दिपक शर्मा यो गीतका संगीतकार हुन् ।

पहिलो बिग आइकन बनेसँगै गगन साँगीतिक फाँटमा चम्किएका हुन् । उनी हाल विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा निकै रोजाईका गायक बनिसकेका छन् । र, नेपालमै हुने विभिन्न साँगीतिक कार्यक्रममा पनि गगनले उत्कृष्ट ‘रेटिङ’ पाउने गरेका छन् । ‘अहिले म जे छु, बिग आइकनकै कारणले छु ।’ गगन भन्छन्–‘त्यसैले म यसको आयोजक संस्था बिग एफएमप्रति सँधै कृतज्ञ छु ।’

गगनले चाँडै नै आफ्नो नयाँ गीति एल्बम आउने पनि जानकारी दिए । त्यस्तै एल्बममा समावेश अन्य गीतहरुको पनि भिडियो निर्माण कार्य भैरहेको उनले बताए । केहि समयपछि उनी साँगीतिक कार्यक्रमका लागि बेलायत जाने तयारीमा जुटेका छन् ।

कमेन्टहरु
Loading...