जि नाइनको एल्बम धन्यवाद सार्वजनिक

पोखरा, ३० चैत्र/स्प्राइट ब्याण्ड च्यालेज तेश्रो संस्करणका बिजेता पोखरेली सांगितिक समुह जि नाइनले आफ्नो पहिलो सांगितिक एल्बम धन्यबाद विमोचन गरेको छ । पोखरामा एक कार्यक्रम गरि समुहले उक्त एल्बम विमोचन गरेको हो ।

एल्बमको कन्दरा ब्याण्डका सदस्य सुनिल थापा, अमित गुरुङ्ग, अण्डरसाइड ब्याण्डका गिटारिस्ट बिकास भुजेल र ब्याण्डका पुर्व गायक प्रयत्न श्रेष्ठले विमोचन गरेका थिए । एल्बममा रक तथा पप गरि ७ वटा गीत समावेश गरिएको ब्याण्डका गायक इनोक तामाङ्गले बताए ।

ब्याण्डले पहिलो पटक गीति संग्रह सार्वजनिक गरेको भएपनि यसअघि बिभिन्न फुटकर गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिसकेको छ । कुनै समय ब्याण्डहरुको राजधानीका रुपमा परिचित पोखरालाई पुनः त्यहि अवस्थामा फर्काउने ध्येयले ब्याण्डबाटै एल्बम सार्वजनिक गरेको गायक तामाङ्गले बताए । कार्यक्रममा जि नाइन ब्याण्डले आफ्नो गीति संग्रहमा संग्रहित गीतहरु सुनाएका थिए । ब्याण्डमा गायक इनोक तामाङ्ग, भुवन केसी, संजय नेपाल, बिक्की कार्की र सगुन परियार संलग्न छन् ।

कमेन्टहरु
Loading...