देशभक्तको चोथौ संग्रह ‘राजमहल’ लोकार्पण

पोखरा, २९ चैत/बहुआयामिक प्रतिभाका धनी देशभक्तसिंह कुँवर फेरि चोकासंग्रह ‘राजमहल’ लिएर आएका छन् । चार महिनामै लगातार चार कृति सार्वजनिक गरेका कुँवर यसपालि फरक परिचयसहित साहित्यिक फाँटमा देखा परेका हुन् ।

चोकासंग्रह राजमहल प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार विमोचन गरे । मन्त्री गुरुङले प्रदेश ४ संस्कृति र साहित्यको धनी क्षेत्र भएको उल्लेख गर्दै यसको उचित संरक्षण हुनुपर्ने बताए । उनले सर्जकलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै स्रष्टा कुँवरलाई अझ सफलताको शुभकामना दिए ।

कार्यक्रममा साहित्यकार शान्तिनारायण श्रेष्ठ, दुर्गाबहादुर शाह बाबा, फिल्म निर्देशक घनश्याम लामिछाने, चित्रकार कृष्ण मर्सानी, गायक तथा संगीतकार एन.जे. सागर लगायतले स्रष्टालाई शुभकामना दिए । स्रष्टा कुँवरले साहित्यिक क्षेत्रमा लगाव आफ्नो प्यास भएको बताए ।

मेघा एफएम ९५.४ मेगाहर्जको आयोजनामा भएको सो कार्यक्रममा स्वागत एफएमकी प्रशासन प्रमुख तिर्सनालक्ष्मी गुरुङले गरेकी थिइन् । संचारकर्मी अम्बिका राणाले स्रष्टा कुँवरको परिचय र कृतिबारे बोलेका थिइन् भने संचालन संचारकर्मी अनिशा श्रेष्ठले गरेकी थिइन् । एफएमका अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

स्रष्टा कुँवरको गत मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेशन’ र डेढ घण्टामै लेखिएको मुक्तकसंग्रह सेतो संसार गत माघ २७ मा विमोचन भएको थियो । यस्तै, एक घण्टामै लेखिएको हाइकुसंग्रह ‘अमृतप्रेम’ गत चैत १ मा विमोचन भएको थियो । पोखरा वाङ्मय प्रतिष्ठान प्रशासक रहेको चोकासंग्रहमा १ सय ३६ वटा चोका समेटिएका छन् । जापानी साहित्यबाट नेपाल भित्रिएको चोका पाँच, सात, पाँच, सात अक्षरमा लेखिन्छ ।

मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष छन् । २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले नायक, गायक, संगीतकार, गीतकार, निर्देशक र साहित्यकारको परिचय बनाएका छन् ।

कमेन्टहरु
Loading...