गायक विनोद बानियाँ बाटाजू पुरस्कारबाट पुरस्कृत

श्याम राना
पोखरा, १० असार/गायक विनोद बानियाँ शनिबार संगीत प्रशिक्षण केन्द्र ललितकुमार हेलकुमारी बाटाजू स्मृति सङ्गीत पुरस्कारबाट पुरस्कृत भएका छन् । नगद ३० हजार रुपैयाँसहित दोसरुल्ला तथा सम्मानपत्रले उनलाई पुरस्कृत गरिएको हो । सङ्गीत प्रशिक्षण केन्द्रले सोही अवसरमा शास्त्रीय सङ्गीतमा साधनारत तथा प्रशिक्षक डा. मितु पाललाई समेत सम्मान गरेको छ ।

आफ्नो जीवनकालमै साङ्गीतिक क्षेत्रमा लागेका स्रष्टालाई प्रोत्साहन र हौसला प्रदान गर्न स्थापना गरेको ३ लाखको पुरस्कार कोष केन्द्रले पोखराका तबलावादक तथा शास्त्रीय गायक स्वर्गीय ललितकुमार बाटाजूको स्मृतिमा सन्चालन गर्दै आएको छ । पुरस्कार ग्रहण गर्दै गायक बानियाँले सम्मानले अझै सक्रिय रुपमा संगीत साधनामा लाग्ने हौसला मिलेको बताए ।

पुरस्कार प्रदान गर्दै प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्रष्टाहरुको सम्मानले समाज गतिशील बन्ने बताए । उनले भने, ‘सम्मानले हौसिएर साधना नै छोड्नुहुन्न, अझै क्रियाशील हुनुपर्छ ।’ छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले बानियाँ पोखरामै रही पोखेरली मात्र नभई सम्पूर्ण नेपाली, संगीत र गायनमा क्रियाशिल रहेकाले सम्मानको भागेदार भएको बताए ।

वि.सं. २०६३ सालमा स्थापना भएको सो पुरस्कारबाट प्रत्येक २ वर्षमा संगीत क्षेत्रमा लागेका कलाकार पुरस्कृत हुने गर्छन् । हालसम्म बाटाजू स्मृति पुरस्कारबाट वरिष्ठ तबला वादक चन्द्रबहादुर बाटाजू, भैरव सांस्कृतिक संरक्षण समिति, वरिष्ठ मृदंगा वादक तथा संस्कृतिकर्मी कृष्णबहादुर वैद्य र संगीतकार कृष्णबहादुर श्रेष्ठ सम्मानित भइसकेका छन् ।

कमेन्टहरु
Loading...