गायक विनोद बानियाँलाई बाटाजू स्मृति सङ्गीत पुरस्कार

पोखरा, ५ असार / पोखराका लोकप्रिय गायक विनोद बानियाँलाई ललितकुमार हेलकुमारी बाटाजू स्मृति सङ्गीत पुरस्कार २०७५ बाट सम्मानित गर्ने भएको छ । पोखरेली साङ्गीतिक क्षेत्रका कुशल तबलावादक तथा शास्त्रीय गायक स्वर्गीय ललितकुमार बाटाजूले आफ्नो जीवनकालमै साङ्गीतिक क्षेत्रमा लागेका स्रष्टालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्धेश्यले ३ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी आफू र धर्मपत्नी हेलकुमारी बाटाजूको स्मृतिमा सङ्गीत पुरस्कार स्थापना गरेका थिए ।

वि.सं. २०६३ सालमा स्थापना भई प्रत्येक दुई दुई वर्षमा वितरण गरिने यस पुरस्कारबाट वरिष्ठ तबला वादक चन्द्रबहादुर बाटाजू, भैरव साँस्कृतिक संरक्षण समिति, वरिष्ठ मृदङ्गा वादक एवम् संस्कृतिकर्मी कृष्णबहादुर वैद्य र सङ्गीतकार कृष्णबहादुर श्रेष्ठ यस अघि सम्मानित भइसकेका छन् ।

पोखरेली साङ्गीतिक क्षेत्रमा ३० वर्षदेखि निरन्तर सञ्चालित सङ्गीत प्रशिक्षण केन्द्र पोखराका सल्लाहकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित छनौट समितिले लोकप्रिय युवा गायक विनोद बानियाँलाई पुरस्कारका लागि सिफरिश गरेको थियो ।

छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले भने ‘विगत १५ वर्षदेखि पोखरामै रही निरन्तर नेपाली गीत, सङ्गीत र गायनमा क्रियाशील रहेका गायक बानियाँलाई यो पुरस्कारका लागि लायक देखिएकाले छनौट गरिएको हो ।’ आफ्नो गला, कला र साधानद्वारा स्थापित बानियाँका सयौं गीत र एल्वमहरू बजारमा आइसकेका छन् ।

सङ्गीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित पुरस्कारको राशी ३० हजार, ताम्रपत्र र दोसल्ला रहेको कुरा केन्द्रका अध्यक्ष गौतम विजुक्छेले जानकारी दिए । युवा जमातमा चम्किएको नाम विनोद बानियाँलाई यो पुरस्कार अर्पण गर्न पाउँदा संस्था नै सम्मानित भएको महसुस गरिएको विछुक्छेले थपे ।

प्रदेश नं. ४ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङद्वारा आषाढ ९ गते शनिबार विन्ध्वासिनीमा प्रदान गर्ने उक्त पुरस्कार अर्पण कार्यक्रममा सङ्गीत प्रशिक्षण केन्द्रले शास्त्रीय सङ्गीतमा साधनारत तथा प्रशिक्षक डा. मितु पाललाई पनि सम्मान गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...